पार्टीको आन्तरिक एकताको सम्भावना अझै जीवितै छ : नेता नेम्वाङ

काठमाडौं।नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरू सामुहिक राजीनामाको तयारीमा पुगिरहेका बेला संसदीय दलका उपनेता सुवास नेम्वाङले भने पार्टीको आन्तरिक एकताको सम्भावना सकिइनसकेको बताएका छन् ।

शनिबार दिउँसोदेखि साँझसम्म ललितपुर सातदोबाटोमा बसेको खनाल–नेपाल समूहका सांसदहरूको बैठकले सामुहिक राजीनामाको विकल्पमा जानुपर्ने निचोड निकालेको थियो । जिल्लामा रहेका सांसदहरू आउन बाँकी रहेकाले आइतबार दिउँसो ३ बजे राजीनामा दिने निष्कर्षमा उनीहरू पुगेका छन् । एमाले एकता फुटको विन्दुमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता सुवास नेम्वाङले छलफल, संवाद चलिरहेको र एकताको सम्भावना अझै जीवित रहेको बताएका हुन् । ‘हामी लागिराखेका छौं । अहिले नै सम्भावना सकिएको छैन’, उनले भने ।

खनाल–नेपाल समूहका सांसद यज्ञराज सुनुवारले पनि सामुहिक राजीनामा एउटा विकल्प भएको बताएका छन् । त्यसअघि प्रधानमन्त्री ओली २०७५ जेठ २ गते फर्कने बाटो रहेको र फर्कन तत्पर भए समाधान हुने बताउँछन् । यता ओली समूहका एक नेता माधवकुमार नेपाल, भीम रावललगायत नेता सहमतिमा आउनै तयार नरहेको आरोप लगाउँछन् ।

‘उहाँहरू हिजोदेखि नकारात्मक हुनुहुन्थ्यो । आज पनि हुनुहुन्छ’, उनले भने, ‘त्यहाँभित्रका सकारात्मक साथीहरू पनि हुनुहुन्छ, उहाँहरू सहमतिमा आउनु हुन्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते (सोमबार) विश्वासको मत लिँदैछन् । त्यो दिन नजिकिँदै जाँदा पार्टीभित्रको संकट फुटको दिशामा अघि बढेको छ ।

 

 
 
  
 

You may also like