प्रधानमन्त्रीलाई विश्वासको मत लिन असफल बनाउने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेको छ ।

कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि जनाएको छ । बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, विश्वासको मत प्रयोजनका लागि संसद बोलाउने काम भएको छ, यसमा ओलीलाई फेल गराउन लाग्ने कुरा भएको छ ।’

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको बैठकले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिँदा त्यसको विपक्षमा उभिने निर्णय गरेको हो ।

‘आगामी २७ गते विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नु भएको छ’” कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘हामीले पदाधिकारी र पूर्व पदाधिकारीको बैठकबाट विश्वासको मतको खिलाफमा उभिने निर्णय गरेका छौ ।’ उनले कांग्रेसले आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतमा संसदको विश्वास नहुने अवस्था निर्माणका लागि पहल गर्ने पनि जानकारी दिए ।

यस्तै कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रियसभा निर्वाचनमा माओवादीसँग ‘एलाइन्स’ गर्ने पनि निर्णय गरेको छ । राष्ट्रियसभामा खाली भएका सिटमा एक–एक सिट हुने गरी गठबन्धन गर्ने निर्णय गरेको छ । ‘राष्ट्रियसभामा दुई सिट खाली भएको छ’, डा. महतले भने, ‘आगामी जेठ ६ वाग्मती प्रदेशमा निर्वाचन घोषणा भएको छ । त्यसलगत्तै लुम्बिनीमा पनि निर्वाचन घोषणा हुनेछ । त्यसमा एक एक सिट हुने गरी माओवादी केन्द्रसँग एलाइन्स हुनेछ ।’ उनले पार्टीको १४ औं महाधिवेशनका लागि सदस्यता छानबिनसहितका आन्तरिक गतिविधि जारी राख्ने निर्णय भएको जानकारी दिए ।

प्रवक्ता तोकिएको छैन

महतले सहमहामन्त्रीलाई प्रवक्ता तोकिएको भन्दै समाचार आइरहेको भन्दै खण्डन गरेका छन् । उनले आफू सहमहामन्त्री भएको र पार्टीका आधिकारिक धारणा राख्न प्रवक्ता तोकिनु नपर्ने भन्दै त्यस्ता समाचारको खण्डन गरेका हुन् । ‘ कांग्रेसमा आवश्यक सबै काम सचिवालयबाट भइरहेकै छन् । अहिले प्रवक्ता तोक्नुपर्ने जरुरी छैन’ डा. महतले भने, ‘म पार्टीको सहमहामन्त्रीको हैसियतमा आधिकारिक धारणा राख्दै आएको छु । प्रवक्ता तोकिएको भन्दै आएका समाचारहरु गलत हुन् ।’

 
 
  
 

You may also like