बैतडी। बैतडीमा मंगलबार दिउँसो शव बोकेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जाँदै गरेको से १ ज १८३ नम्बरको जीप जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ को गणमेश्रमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारी रहेको प्रहरीले जनाएको छ । मृतक सबै वडा नम्बर–६ कै स्थानीय रहेको घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुसार घाइते ६ जनालाई उपचारको लागि जिल्ला अस्पतात बैतडी ल्याइँदैछ ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जीप दुर्घटनामा परेको हो । घाइतेलाई हतारमा अस्पताल पठाइएकोले अवस्थाबारे अहिले भन्न नसकिने खड्काले बताए । जीपमा १० जना यात्रु सवार थिए । प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन ।