भारतीय कारमा मृत्त भेटिएका तीन बालकहरुको शवको पहिचान, गाडी मालिक र चालक पक्राउ

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा भारतीय कारमा मृत्त भेटिएका तीन बालकको शवको पहिचान खुलेको छ ।
लक गरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरू तुलसीपुर–६ स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको लक लागेको भारतीय नम्बर प्लेटको गाडीभित्र शनिवार बेलुकी मृत भेटिएका थिए । तीनै जना वालक बैशाख १६ गते अपरान्हदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकको निवेदन परेको थियो । १८ गते बेलुकी अचानक गाडीको लाइट बलेपछि स्थानीय बासिन्दा नजिकै गएर हेर्दा लक गरिएको कारभित्र शव भेट्टाएका थिए । त्यसपछि प्रहरीलाई खवर भएको हो ।

इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली तुलसीपुर ल्याइएको थियो । मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दावी गर्दै हत्यारा पक्राउ गरी कार्वाही गर्न माग गरेका छन् ।

उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको खुलेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार प्रहरी अनुसन्धानका लागि गाडी मालिक गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

 
 
  
 

You may also like