कोरोनाबाट बिपी प्रतिष्ठानमा थप दुई जनाको मृत्यु , प्रदेश अस्पताल सुर्खेत संक्रमितले भरिए, अक्सिजन अभाव

सुनसरी। कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जनाको ज्यान गएको छ । सोमबार मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

वैशाख ४ गते अस्पताल भर्ना गरिएका विराटनगर–१२ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिए ।

डा. पोखरेलका अनुसार यसअघि जनकपुरका ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । वैशाख ९ गते अस्पतालन भर्ना गरिएको उनमा पनि उच्च रक्तचापको समस्या थियो । दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।

प्रदेश अस्पताल सुर्खेत संक्रमितले भरिए, अक्सिजन अभाव
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दिनहुँ संक्रमित बढ्दै जादा प्रदेश अस्पताल सुर्खेतका कोभिड वेडहरु भरिएका छन् । संक्रमितको संख्या बढ्दै जाँदा कर्णाली प्रदेशका अस्पतालहरूमा अक्सिजन अभाव समेत भएको छ ।

कर्णाली प्रदेश अस्पतालमा कोभिड–१९ का बिरामीका लागि २५ वटा आइसियू बेड छुट्याइएको छ । यता पछिल्लो समय परीक्षण गरिएकामध्ये ८० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन केएन पौडेलले बताए ।
उनका अनुसार पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्र गतिले बढेको छ । ारतलगायतका मुलुकबाट सर्वसाधारण गाउँ फर्किन थालेपछि संक्रमणको दर पनि बढ्न थालेको हो ।

प्रदेश अस्पताल सुर्खेतको आफ्नै अक्सिजन प्लान्ट भएपनि बिग्रिएका कारण नेपालगञ्जको भर पर्नुपर्ने बाध्यता रहेको छ ।पर्याप्त मात्रामा अक्सिजन नहुँदा समस्या आउन सक्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् । कर्णाली प्रदेशमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ७ हजार ९९४ पुगेको छ ।

 

 
 
  
 

You may also like