नेपाल–खनाल समूहका सांसदलाई उपयुक्त समयमा कारबाही हुन्छ : एमाले

काठमाडौं। नेकपा एमालेले नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुमाथि उपयुक्त समयमा कारबाही हुने चेतावनी दिएको छ ।

नेकपा एमालेले कर्णाली प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि फ्लोर क्रस गराउने तयारी भइरहेको भन्दै त्यसको सूचना लिइरहेको जनाएको छ । आज (आइतबार) आकस्मिक रुपमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले कर्णालीमा जस्तै विभिन्न ठाउँमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बारेमा छलफल भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘हाम्रै पार्टीभित्रका साथीहरुबाट अविश्वासको प्रस्ताव ल्याउने कोशिस भइरहेको छ । कर्णाली जस्तै विभिन्न ठाउँमा त्यसको तयारी भएको जानकारी पाएका छौं, ज्ञवालीले भने ।

‘अलिकति स्थितिको हामीले समीक्षा गर्‍यौं, अहिले अविश्वासको प्रस्ताव ल्याउने कोशिस भइरहेको छ । कसरी ल्याउने कुरा त धेरै ठूलो कुरा भएन’, उनले भने, ‘तर, कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रसहरु गराउन पनि प्रयासहरु हुँदै गरेका बारेमा हामीले आवश्यक जानकारी लिइरहेका छौं, त्यसका लागि आवश्यक निर्णय पछाडि उपयुक्त समयमा गर्ने नै छौं ।’

यस्तै आजको बैठकले कोभिड नियन्त्रणमा पार्टी परिचालित हुने पनि निर्णय गरेको उनले जानकारी दिए । पार्टीका केही नेताहरुलाई स्पष्टिकरण सोधिएकोबारेमा समेत ओलीले बैठकमा जानकारी गराएका थिए । ‘पार्टीमा केही नेताहरुलाई स्पष्टीकरण सोधिएको बारेमा प्रधानमन्त्री ओलीले बैठकमा जानकारी गराउनु भयो’, बैठकपछि ज्ञवालीले भने, ’अस्तीको बैठकले आवश्यक छलफल गरेर निर्णय गर्ने जिम्मा स्थायी समितिलाई दिएको हुनाले आवश्यक निर्णय आगामी दिनमा हुँदै जानेछन् ।’

 

 
 
  
 

You may also like