काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माण भएको खुशीयालीमा दीपावली गर्न आग्रह गरेका छन् ।
पुनर्निर्मित धरहराको उद्घाटन समारोहमा बोल्दै ओलीले धरहरा पुनर्निमार्ण भएको अवसरमा काठमाडौंवासीले दीपावली गर्ने अपेक्षा राखे ।
‘आजको यो दिनमा कमसेकम आफ्नो घरमा दीपावली गरौं भनेर अनुरोध गर्छु’, उनले थपे, ‘धरहरा पुनर्निर्माण हुने रहेछ, रानीपोखरी बन्ने रहेछ, बन्यो । मेलम्चीको पानी आउने रहेछ आयो । वृहत टुँडिखेलको योजना बन्दै छ, त्यो पनि सफल हुन्छ ।’
उनले काठामाडौंलाई नयाँ स्वरुप दिने बताए । विश्वका मानिसलाई काठमाडौं आउँ आउँ जस्तो सहर बनाउने ओलीले प्रष्ट्याए । एक पटक घुमेर हुँदैन फेरि आउनु पर्छ जस्तो काठमाडौं बनाउने उनले बताए । धरहरामा परेर ज्यान गुमाएका परिवारहरुलाई यसमा सिर्जना हुने अवसरमा सहभागी गराउने उनले बताए । परिवारको एक जनालाई प्राथमिकताका साथ रोजगारी उपलव्ध गराउने उनको भनाई छ ।
देशलाइ चाहिने सामान आफै उत्पादन गर्ने दिशामा सरकार अघि बढेको ओलीले बताए । ‘जे चिज हामीलाई चाहिन्छ त्यो हामी आफै उत्पादन गर्नु पर्छ’, उनले भने, ‘टेलिभिजन हामी आफै किन उत्पादन नगर्ने । अहिलेसम्म हामी अरुको बजार बनेका छौं । कमाएको बाहिर पठाउँछौ ।’