बागलुङ–पर्वत जोड्ने झोलुंगे पुल तर्न २० रुपैयाँ शुल्क

बागलुङ । नेपालकै लामो झोलुंगे पुलमा आउजाउ गर्ने यात्रीलाई बागलुङ नगरपालिकाले शुल्क लिन थालेको छ । पुल तर्न २० रुपैयाँ शुल्क तोकिएको हो ।
नगर कार्यपालिकाले निर्णय गरेर रकम लिन थालिएको २ नम्बर वडाध्यक्ष जीवन आचार्यले बताए । बागलुङको रामरेखादेखि पर्वतको पाङ जोड्ने यो पुल ५६७ मिटर लामो छ । कार्यपालिकाले निर्णय गरे पनि यसरी शुल्क उठाउनु वैध नभएको वडा नं. १ का सदस्य सूर्य लामिछानेले बताए । ‘राजस्व परामर्श समितिको सिफारिसमा नगरसभाले पास गरेपछि मात्रै रकम संकलन गर्न पाइन्छ,’ उनले भने, ‘जनतालाई सेवासुविधा दिन बनाइएको पुलमा शुल्क उठाउने विषय नै राम्रो भएन ।’

वडाध्यक्ष आचार्यले पर्वत र बागलुङका बासिन्दालाई नभई बाहिरबाट आएका पर्यटकलाई मात्र टिकट काट्ने व्यवस्था गरिएको बताए । ‘एकैपटक धेरै मानिस जान सक्ने र घुम्नकै लागि आएकाहरूले शुल्क तिर्न सक्ने भएर यो निर्णय गरिएको हो,’ उनले भने ।
शुल्क लिइएको विषयलाई लिएर स्थानीय रूपमा विरोध भएको छ । ‘नेपाल सरकारको बजेटबाट निर्माण भएको पुलमा पैदल यात्रीमाथि कर लगाउने काम गैरकानुनी हो,’ स्थानीय सुजन परियारले भने, ‘पुलमा कर लगाइनु लाज मर्नु भयो, पुलमै कर लगाएपछि कहाँका पर्यटक आउलान र बजारको व्यापार बढ्ला ?’

यो पुलले पाङ जानेलाई एक घण्टा समय छोट्याइदिएको छ । पुल बनेपछि बढेका पर्यटकले जिल्लाको व्यवसाय फस्टाउने व्यवसायीको आस थियो । यो पुलबाट कालीगण्डकी नदी, धौलागिरि हिमाल देखिन्छ । बत्तीको राम्रो व्यवस्थापन गरिएकाले रातको समयमा पुल अझ आकर्षक देखिन्छ ।

नगर प्रमुख जनकराज पौडेलले पुलको नियमित मर्मतका लागि कोष बनाउन शुल्क लिइएको बताए । ‘निश्चित कोष भएपछि नियमित मर्मत गर्न सकिन्छ,’ उनले भने, ‘समूहमा मिलेर आउने पर्यटकले सानो शुल्क तिर्नु नौलो कुरा पनि भएन ।’ व्यवसायीले भने पुलमा शुल्क लगाउनुभन्दा नजिकमा रेस्टुरेन्ट खोलेर कर संकलन गर्न सुझाव दिएका छन् । रासस

 
 
  
 

You may also like