सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ,’ सरकारका प्रवक्ता पार्वत गुरुङले भने ।

मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको थियो भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको थियो ।
तर, सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा अलमल गर्दै आएको थियो ।

 
 
  
 

You may also like