कोरोना संक्रमण दोस्रो लहर : भेरियन्ट पत्ता लागे रोकथाम सहज

काठमाडौं। कोरोना भाइरसका नयाँ भेरियन्टले दोस्रो लहर तीव्र पारे पनि नेपालमा यसबारे अध्ययन हुन सकेको छैन । बेलायतमा देखिएको ‘युके भेरियन्ट’ नेपालमा पनि पुष्टि भएको एक अध्ययनले देखाएको छ । उक्त आनुवांशिक अध्ययनअन्तर्गत नेपालमा संकलित भाइरसका १५ नमुनालाई हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएको थियो ।

अध्ययनअन्तर्गत एसजिन नेगेटिभ रहेका १० र ५ पिसिआर पोजेटिभ भएकासमेत गरी १५ नमुनाको जेनेटिक सिक्वेन्स तयार गरिएको थियो । एसजिन नेगेटिभ भएका १० नमुनामध्ये ९ मा कोरोना भाइरसको ‘युके भेरियन्ट’ पाइएको थियो भने पिसिआर गरिएकामध्ये एकमा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको थियो । नेपालमा भाइरस परीक्षण क्रममा एसजिन नेगेटिभ देखिएमा यसलाई ‘युके भेरियन्ट’ हुनसक्ने मानिएको छ ।

नेपालमा महामारीले तीव्र रुप लिइरहँदा यसका लागि भाइरसको कुन भेरियन्ट जिम्मेवार छ भन्ने जानकारी भएमा रोकथाम गर्न सजिलो हुन्छ । यसका लागि निरन्तर अध्ययन आवश्यक हुन्छ । यसैगरी नयाँ भेरियन्ट नियन्त्रणमा अहिले उत्पादन गरिएको खोपले काम गर्छ या गर्दैन भन्ने पत्ता लगाउन पनि यो अध्ययन आवश्यक रहेको विज्ञ बताउँछन् ।

केही महिनाअघि नेपालमा पहिलोपटक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाइमा कोभिड–१९ भाइरसको आनुवांंशिक अध्ययन भएको थियो । उक्त अध्ययन एक निजी प्रयोगशालामा भएको थियो । अध्ययनले समेटेका १५ भाइरसका सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेको र अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दोजुल्दो देखाएको थियो । अध्ययनले धेरै देशमा पाइएको भाइरसको ‘डी–६१४–जी’ नाम गरेको उत्परिवर्तित स्ट्रेन नेपालमा पनि रहेको देखाएको थियो । नागरिक दैनिकबाट

 
 
  
 

You may also like