बागलुङ। हावाहुरीसँगै परेको चट्याङ लागेर गए राति बाग्लुङ, स्याङ्जा र भोजपुरमा तीन जनाको ज्यान गएको छ । चट्याङ लागेर अर्का एक जना गम्भीर घाइते भएका छन् ।
चट्याङ लागेर बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले निवासी ४५ वर्षीय खिमलाल कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर ताराखोला गाउँपालिका–३ रातमाटाकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छन् । त्यसैगरी स्याङ्जाको फेदीखोला–५ बायाँ फड्केमा पनि चट्याङ लागेर ३९ वर्षीय ईश्वरी लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ । भैंसी दुहुन गोठमा गएको बेला लामिछानेलाई चट्याङ लागेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मोहन पोखरेलले जानकारी दिए ।
चट्याङले गम्भीर घाइते भएका ईश्वरीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी गए राति नै भोजपुरमा पनि हावाहुरीसमित परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
षडानन्द गाउँपालिका– ८ निगुरेमा चट्याङ लागेर स्थानीय ६० वर्षीया मनमाया राईको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी चट्याङ लागेर पर्वतको जलजला–८ लुप्राङमा एउटा भैसी, एउटा गोरु र दुईवटा बाख्रा मरेका छन् । गए राति काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा हावाहुरीसहित हल्का वर्षा समेत भएको छ ।
प्रदेश–२ का जिल्लामा ६ महिनापछि गए राति सामान्य वर्षा भएको छ । वर्षा भएपछि आकाशमा लागेको तुवाँलो केही हटेको छ ।