सीमा नाका खुकुलो : नाकाबाट आएकामा देखिँदैछ संक्रमण

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमा नाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा बेवास्ता हुँदै आएको छ । जसका कारण कोरोना संक्रमण दर ह्वात्तै बढ्न थालेको छ ।

हाल मुलुकका उत्तरी र दक्षिणीतर्फ गरी ३५ सीमानाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै ३२ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । यतिसम्म कि दैनिक रूपमा के कति संख्यामा ती विभिन्न नाकाबाट मानिस आवतजावत गरिरहेका छन् र उनीहरू कहाँ पुगे भन्ने यकिन तथ्यांक सरकारी निकायसँग छैन । गृह मन्त्रालयअन्तर्गतको सीमा तथा अध्यागमन प्रशासन शाखाका प्रमुख परमानन्द घिमिरेले भारतसँग जोडिएका मात्रै ३२ सीमानाका हाल सञ्चालनमा रहेको जानकारी दिए । ती विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्नेहरूलाई चेकजाँचपछि प्रवेश दिने गरिएको उनले बताए ।

सीमा नाका हुँदै आउनेहरूको हेल्प डेस्कमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको छ । तर, हेल्प डेस्कमा जनशक्ति तथा स्रोत साधनको पर्याप्त व्यवस्था हुन नसक्दा अधिकांश नेपाली परीक्षणबिना नै निर्बाध रूपमा नाकाबाट भित्रिने गरेका छन् । नाकाबाट भित्रिनेमध्ये केहीको मात्र परीक्षण गर्ने गरिएको छ । धनगढीबाट प्राप्त विवरणअनुसार ३ चैतयता मंगलबारसम्म भारतबाट आएका करिब २० हजार नेपालीमध्ये करिब ४ हजारको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । त्यसमध्ये ४ सय ७८ जनालाई कोरोना संक्रमण भएको पाइएको छ । राजधानी दैनिकबाट

 
 
  
 

You may also like