काठमाडौं। आज विक्रम संवत् २०७८ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । नेपाल तथा विश्वका विभिन्न देशमा बस्ने नेपालीले एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँदै छन् ।
नयाँ वर्षमा गत वर्ष गरेका कामको समीक्षा गर्ने र नयाँ संकल्पसहित काम अघि बढाउने गरिन्छ । आज मीठो मसिनो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्ने गरिन्छ । नेपालको मौलिक संवत् मानिने विक्रम संवतको आफ्नै महत्व र वैज्ञानिकता रहेको ज्योतिषविद् बताउँछन् ।
सरकारी कामकाजमा विक्रम संवत्को आधारमा चलाउने नेपाल एक मात्र मुलुक हो । यो संवतको आरम्भकर्ता विक्रामादित्य हुन् । विक्रम संवत् सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिक महत्व रहेको ज्वोतिषविद्हरुको भनाई छ । सूर्यले ३६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् शुरु हुन्छ ।
गत वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरस संक्रमणको कारण नेपालीले घरमै बसेर नयाँ वर्ष मनाउँदै छन् । कोरोना संक्रमणको त्रासको कारण बाहिरफेर घुमफिर एवं मेला महोत्सवमा सहभागी हुने अवस्था छैन । सरकारले पनि कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।
यसैबीच नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् । नयाँ वर्षको अवसरमा देशैभरी आज सार्वजनिक बिदा दिइएको छ ।