पहाडी भेगमा वर्षाको सम्भावना, साँझदेखि काठमाडौको वायु प्रदूषण घट्दै जाने

काठमाडौं। देशका अधिकांश भू–भागमा आज (सोमबार) आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले जनाएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा अपरान्ह्पछि छिटफुट वर्षाको सम्भावना रहेको छ । ठूलो पानी नपर्दा लामो समयदेखि लागेको तुँवाले हट्न सकेको छैन । वायु प्रदूषण उच्च हुँदा आँखा पोल्ने, नाक पोल्ने जस्ता समस्या देखिने गरेको छ । काठमाडौं उपत्यकामा रहेको वायु प्रदूषण साँझसम्म केही कम हुने मौसमविद् समीर श्रेष्ठ बताउँछन् ।

‘अहिले (विहान) काठमाडौंको भिजिविलिटी ३ किलोमिटर छ । हिजो यही समय ५ किलोमिटर थियो । तर, अपरान्ह्पछि वायू प्रदूषण केही हटेर जान्छ’, मौसमविद् श्रेष्ठले भने, ‘अहिलेको मौसमी प्रणाली वायु प्रदूषण गराउने खालको होइन । धुलो धुवाँको स्रोत काठमाडौं उपत्यका नजिकै रहेकाले प्रदूषण धेरै भएको हो । यो केही दिनमै कम हुन्छ ।’ ठूलो पानी परेपछि तथा हावाहुरी चलेपछि वायु प्रदूषण हट्ने वातावरण विभागले जनाएको छ । देशका धेरै ठाउँमा लागेको डडेलोका कारण वायु प्रदूषण उच्च भएको हो ।

 
 
  
 

You may also like