चितवनमा ट्याक्टर दुर्घटना , ५ जनाको मृत्यु

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हाे ।

उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चारजना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । मृतकहरुको विवरण खुलेको छैन ।

वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीकाे अवस्था गम्भीर छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

चितवनमा आइतबार नै म्याजिक भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

 
 
  
 

You may also like