काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मधेस आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन बिहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ ।
पत्रमा मुद्दा लगाइएका व्यक्तिहरूको नाम राखिएको छ । जसपाका नेता डा.सुरेन्द्र झाले बिहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपानेलाई मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूची बुझाएका हुन् । २४ थान मुद्दामा अभियुक्त बनाइएका २१० जनाको नाम र ठेगानासहितको सूची मन्त्रालयमा बुझाएको डा.झाले बताए ।
जसपाका अनुसार सूचीमा प्रदेश २ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको नाम पनि छ । २०७२ सालको तेस्रो मधेस आन्दोलनका क्रममा जलेश्वरमा थमन विकको हत्या घटनामा शर्मालाई अभियुक्त बनाएर मुद्दा चलाइएको छ । सूचीमा जलेश्वर नगरपालिकाका मेयर शंकर शाहको नाम पनि छ । २१० जनाको सूचीमा रहेका सबै जसपाका नेता–कार्यकर्ता भएको पार्टीले जनाएको छ ।
‘पार्टीका कार्यकर्तामाथि विभिन्न अदालतमा दायर गरिएका मुद्दा फिर्ता लिन गृह मन्त्रालयमा नाम बुझाएका छौं’, नेता झाले भने । जसपाले बुझाएको सूचीका आधारमा सरकारले मुद्दा फिर्ता लिने सहमति भएको उनले बताए । झाका अनुसार गृहमा बुझाएको मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूचीलाई महान्यायाधिवक्ताको कार्यालय हुँदै कानुन मन्त्रालयमा लगिनेछ । कानुन मन्त्रालयले मुद्दा फिर्ता लिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने छ । मन्त्रिपरिषद्बाट प्रस्ताव अनुमोदन भएपछि मुद्दा फिर्ता लिइने छ ।
यसअघि जसपाले नाम संकलन गर्न गृह मन्त्रालयबाट फाराम लिएर जिल्ला–जिल्लामा पठाएको थियो । जिल्ला–जिल्लामा फाराम भराएर संकलन गरिएका नामको सूची जसपाले गृहमा बुझाएको हो । फाराममा मुद्दा लगाइएका व्यक्ति, मुद्दा दर्ता गरिएको अदालत, हाल मुद्दाको अवस्थालगायत विवरण खुलाइएको छ ।
जसपाले सरकारसँग पाँच वटा माग राखेको छ । जसमध्ये मुद्दा फिर्ता लिनुपर्ने मागलाई उसले प्राथमिकता साथ उठाएको छ । यसबाहेक जसपाले थुनामा रहेका पार्टीका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयक पास गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेको छ । विभिन्न चरणमा भएका वार्तापछि पार्टीले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया सुरु गरेको नेता झाले बताए । नागरिक दैनिकबाट