चिकित्सक भन्छन्– बर्सेनि वायु प्रदूषणको तह बढ्दै गए पनि नेपालमा यसको असरबारे अहिलेसम्म कुनै अध्ययन गरिएको छैन
काठमाडौं। दुई सातायता देशभर वायु प्रदूषण खतराको तहभन्दा माथि छ । वायु प्रदूषण बढेसँगै अस्पतालमा श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेका छन् । यसअघि गत पुसमा पनि काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पश्चिमी वायुको न्यून प्रभावका कारण प्रदूषणको मात्रा बढ्दो छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को वायु गुणस्तर मापदण्डअनुसार २४ घण्टामा प्रतिघनमिटर हावामा पिएम–२.५ को मात्रा २५ माइक्रोग्रामभन्दा बढी हुनु हुँदैन ।
वातावरण विभागको तथ्यांकअनुसार वर्षमा करिब ६ महिना एक्युआई राष्ट्रिय मापदण्डभन्दा बाहिर छ । यद्यपि, ०७३ देखि वातावरण विभागले तथ्यांक संकलन गरेको छैन । ०७३ मा विभागले संकलन गरेको तथ्यांकमा पिएम–२.५ लाई वार्षिक औसतमा हेर्दा तीन सय १० दिनमा एक सय ५८ दिन एक्युआई मापदण्ड नाघेको छ । एक्युआईको तह यो वर्ष ०७३ को भन्दा निकै माथि पुगेको छ ।
चिकित्सकका अनुसार वायु प्रदूषण बढेसँगै अस्पतालमा श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । प्रा.डा. सन्तकुमार दासका अनुसार त्रिवि शिक्षण अस्पतालमा पछिल्लो समय अस्पतालमा दम र ब्रोङकाइटिसको समस्या लिएर आउनेको संख्या बढ्न थालेको छ ।
‘प्रदूषण श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्ने हुँदा सुरुमा फोक्सो बढी प्रभावित हुन्छ । धेरै मसिना कण फोक्सो हुँदै रगतको माध्यमबाट अन्य अंगमा प्रवेश गर्छन् । अस्पतालमा श्वासप्रश्वाससम्बन्धी संक्रमणका समस्या लिएर आउने बिरामीको संख्या बढ्नुको कारण प्रदूषण भएको अनुमान गरिन थालिएको छ,’ उनले भने ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक दशमध्ये एकजनाको मृत्यु वायु प्रदूषणको असरका कारण हुने गर्छ । सन् २०१९ मा हेल्थ इफेक्ट इन्स्टिच्युटले तयार गरेको एक प्रतिवेदनमा विश्वभर वायु प्रदूषणका कारण मानिसको आयु २० प्रतिशतले घटेको उल्लेख गरिएको थियो । ग्लोबल बर्डन अफ डिजिज प्रोजेक्टबाट तथ्यांक संकलन गरेको अध्ययनले वायु प्रदूषणको असर दक्षिण एसियामा अझै भयावह भएको जनाएको थियो । नयाँ पत्रिका दैनिकबाट