काठमाडौं विश्वकै एक नम्बर प्रदूषित शहर, मौसम अझै केहि दिन स्थिर रहने

काठमाडौं। काठमाडौं आज (मंगलबार) पनि विश्वको सबै भन्दा प्रद्रषित शहरको एक नम्बरमै परेको छ । केहि दिनअघि केहि कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको हो ।

वायु प्रदूषणसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरको सोमबार साँझको मापनअनुसार २५६ वायू प्रदूषण सूचकांक (एक्यूआई) सहित काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा छ ।

यसअघिको वायु प्रदूषण केही दिनअघिको वर्षातले केही सफा भए पनि आइतबारदेखि बढेको प्रदूषण सोमबार झनै उकालो लागेको हो । एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ मापन हुँदा यो शहर संसारकै धेरै वायु प्रदूषण भएको सूचीमा पहिलो नम्बरमा रहन पुगेको हो ।

यद्यपि, नेपालमा सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदूषण धनगढी (एक्युआई–४२९), चितवनको भरतपुर (एक्युआई ३९८) र ललितपुरको भैंसेपाटी (एक्युआई ३२५) रह्यो । एक्वुआई ५० भन्दा माथि हुनु भनेको क्रमशः नराम्रोको मात्रा बढ्दै जाने हो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार वायु प्रदूषण घट्न मौसममा फेरबदल जरुरी हुन् छ। अहिले काठमाडौं उपत्यकाको वायु मण्डल स्थिर छ अर्थात् चलायमान छैन । जसले गर्दा चारैतिर पहाडले घेरिएको काठमाडौंका धूलकण, धुवाँलगायत प्रदूषित वायु बाहिरन पाएको छैन र प्रदूषण बढेको छ ।

‘अझै दुई तीन यहाँको मौसम स्थिर नै रहने देखिएको छ,’ मौसमविद् प्रधानाङ्गले मंगलबार भने, ‘यसले गर्दा उपत्यकामा अझै केही दिन वायु प्रदूषण बढ्ने देखिन्छ ।’ नेपालमा पानी नपर्नु, डढेलो, धुँवा, धूलो जस्ता कारणले प्रदूषण बढेको विज्ञहरुले बताएका छन् । विज्ञहरूले यस्तो समयमा सकभर घर बाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्न सुझाएका छन् ।

 

 
 
  
 

You may also like