नरभक्षी पाटेबाघ समातियो, बर्दियाबाट काठमाडौं ल्याइँदै

बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जभित्र आइतबार बेलुका गैंडा गणनामा खटिएका हात्तीका माहुतेको ज्यान लिएको नरभक्षी पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले निकुञ्जभित्र पर्ने गैंडा मचान क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । आइतबार नियन्त्रणमा लिइएको बाघलाई बर्दिया निकुञ्जले काठमाडौं ल्याउने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले उक्त भाले बाघलाई सदर चिडियाखाना, जाउलाखेलमा राख्नका लागि ठाकुरद्वाराबाट पठाउन लागिएको जानकारी दिए ।

योसँगै बर्दियाबाट पाँच वटा पाटेबाघ नियन्त्रणमा लिइएको छ । भुरिगाउँ क्षेत्रबाट नियन्त्रणमा लिइएको बुढो पाटेबाघ उपचारका क्रममा मरेको थियो । यस्तै नियन्त्रणमा लिइएको बाघहरुलाई बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्धारा र निकुञ्जको रम्मापुर क्षेत्रमा राखिएको छ । बाँके राष्ट्रिय निकुञ्जमा राखिएको पाटेबाघ भने खोरको सरिया बङ्ग्याएर भागेको थियो । अहिले नियन्त्रणमा लिइएको बाघलाई जावलाखेल चिडियाखाना लैजाने तयारी गरिएको छ ।

गैंडा गणना गर्न गएको टोली रहेको हात्तीका माहुते पुलिसराम चौधरीको आइतवार बेलुका निकुञ्जभित्र गैंडा मचान क्षेत्रमा पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो । यसअघि चैत ३ गते पनि यसै क्षेत्र आसपासमा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । निकुञ्जको प्राविधिक टोलीले क्यामरा ट्रयापिङ गर्दा महिलालाई आक्रमण गर्ने र माहुतेलाई आक्रमण गर्ने पाटेबाघ एउटै भएको अनुमान लगाएको छ ।

अन्दाजी १० वर्षको भाले पाटेबाघलाई राति नै टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको हो । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई पाटेबाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ । नियन्त्रणमा लिइएको पाटेबाघले तीन हप्ताको अवधिमा दुई जनालाई आक्रमण गरेको निकुञ्जको अनुमान छ ।

‘माहुतेलाई आक्रमण गर्ने बाघ त यही नै हो । तीन हप्ताअघि यही क्षेत्रमा महिलालाई आक्रमण गर्ने बाघ पनि यही हुनसक्ने अनुमान छ’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने । माहुतेलाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया निकुञ्जको टोलीले राति नै बाघलाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएको पाटेबाघलाई सदर चिडियाखाना काठमाण्डौ लैजाने तयारी थालिएको वार्डेन श्रेष्ठले बताए । पाटेबाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविकमार्ग र राष्ट्रिय वन आसपासका क्षेत्रमा एक वर्षभित्र ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

 

 
 
  
 

You may also like