काठमाडौं। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडसले प्रधानमन्त्री केपी शर्मा प्रतिनिधिसभा वैठकमा नआउनुको कारण सरकारका प्रतिनिधिले स्पस्ट पार्नुपर्ने माग गरेका छन् ।
प्रधानमन्त्रीले आफूमाथि सुरक्षा थ्रेट भएको बताएको स्मरण गर्दै सांसद बडुले प्रधानमन्त्री सुरक्षा थ्रेटकै कारण संसद बैठकमा सहभागी नहुनु भएको हो भन्दौ प्रश्न गरेका छन् ।
‘प्रधानमन्त्रीले केही दिन अघि आफूमाथि सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुनसक्ने आशयको सार्वजनिक अभिव्यक्ति दिनु भएको छ, यसमा सत्यता कति छ, यथार्थ के हो ?’ उनले भने, ‘उहाँको सुरक्षामा गृह मन्त्रालयले थप के–के व्यवस्था गरेको छ, संसद् चलिरहँदा आजसम्म संसदमा नदेखिनुको कारण सुरक्षा खतरा नै हो कि नैतिक खतरा महसुस गर्नु भएको हो ।’
उनले भने, ‘यदि सुरक्षा खतरा छैन भने प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्ने गरी गैरजिम्मेवार र बनावटी अभिव्यक्ति किन दिनुभयो ? यथाशिघ्र सरकारको प्रतिनिधिबाट संसदलाई जानकारी गराउन माग गर्दछु ।’