मन्त्री पौडेल र भट्टलाई सुरक्षा दिन नसकेको भन्दै प्रजिअ र प्रहरी प्रमुखको एकैपल्ट सरुवा

रुपन्देही । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र दुई प्रहरी प्रमुखको ६ महिना नबित्दै सोमबार एकैपल्ट सरुवा भएको छ ।मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दै गृह मन्त्रालयले तीनै जनाको सरुवा गरेको स्रोतको दाबी छ । प्रजिअ पीताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल र सशस्त्र प्रहरी प्रमुख एसपी भरत खनियाको सरुवा भएको हो । घिमिरे २०७७ भदौमा रुपन्देहीमा प्रजिअ भएर आएका थिए ।

यस्तै रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेललाई पनि ६ महिना नपुग्दै सरुवा गरिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक भरत खनियालाई पनि हटाइएको छ ।

गएको फागुन २१ गते सरकारले मोतीपुर औद्योगिक क्षेत्रमा तयारी बिनै शिलान्यास कार्यक्रम गरेको थियो । उद्योगका लागि अधिग्रहण गरेको जग्गामा आफूहरूको व्यवस्थापन नगरी ‘जबरजस्ती’ शिलान्यास गरेको भन्दै स्थानीयले कार्यक्रम अवरोध गरेका थिए ।

अवरोधकै बीच शिलान्यास गर्न खोज्दा स्थानीयले मन्त्रीमाथि ढुंगा प्रहार गरेका थिए । असुरक्षा देखिएपछि मन्त्रीद्वयले कार्यक्रम छाडेर लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पुगे र पत्रकार सम्मेलनमार्फत कुरा राखेका थिए ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले प्रजिअको सरुवा भएको पुष्टि गरे । उनका अनुसार रूपन्देहीका प्रजिअ घिमिरेको पर्सा सरुवा भएको छ । रूपन्देहीमा पर्साका प्रजिअ अस्मान तामाङ आउने भएका छन् ।

 

 
 
  
 

You may also like