चीनले अनुदानमा दिएको आठ लाख डोज कोरोना खोप सोमबार नेपाल आइपुग्ने

काठमाडौं। चीनले अनुदानमा दिने आठ लाख डोज कोरोना भाइरसविरुद्धको खोप भोलि (सोमबार) नेपाल आइपुग्ने भएको छ ।बेइजिङमा तयार अवस्थामा राखिएको खोप सोमबार नेपाल आइपुग्ने भएको हो । खोप लिनका लागि चार्टर विमान आइतबार बिहान चीन जाने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । चीनले १८ माघमा तीन लाख खोप सहायता गर्ने बताए पनि १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो । यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो ।

नेपालले हालसम्म २३ लाख डोज खोप प्राप्त गरेको छ । भारतले १० लाख डोज अनुदान दिएको थियो भने कोभ्याक्स सुविधामार्फत २२ लाख घोषणा गरेको भएपनि ३ लाख ४८ हजार डोज प्राप्त भएको छ । त्यसैगरी सरकारले सिरमसँग २० लाख खरिद गर्न ९३ करोड ६० लाख अग्रिम भुक्तानी गरेको भएपनि १० लाख मात्र प्राप्त भएको छ ।

अनुदान तथा खरिद गरिएको खोप समेत गरेर हालसम्म प्राप्त जम्मा २३ लाख ४८ हजार डोज खोप मध्ये १६ लाख ७३ हजार डोज खोप प्रयोगमा आएको छ । त्यसैगरी ६ लाख ७४ हजार प्रयोगमा आउन बाँकी छ भने चिनियाँ अनुदानको ८ लाख डोज खोप आउन बाँकी रहेको छ ।

नेपालमा खोप अभियान माघ १४ गतेबाट सुरु भएको थियो । पहिलो डोज लगाएको बढीमा आठ सातामा दास्रो डोज लगाउनुपर्ने हुन्छ । त्यही अनुसार दोस्रो डोज १२ सातापछि वैशाखमा लगाउन सुरु गरिने छ ।

 
 
  
 

You may also like