श्रीमती, छोरी र छिमेकीलाई खुकुरीले हानी गम्भिर बनाएपछि आत्महत्या

इलाम । इलाममा एक व्यक्तिले श्रीमती, छोरी र छिमेकीका छोरालाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएर आफूले पनि आत्महत्या गरेका छन् ।

इलाम नगरपालिका–३, खोपीका ७२ वर्षीय देउमान राईले परिवार र छिमेकीसहित तीन जनालाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् । उनले ४४ वर्षीया पत्नी कमला, १२ वर्षीया छोरी प्रमिला र छिमेकी १५ वर्षीय अनुप राईलाई खुकुरी प्रहार गरेर गम्भिर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ ।

खुकुरी प्रहारबाट कमलाको टाउको, दुवै हात र तिघ्रामा चोट लागेको छ भने प्रमिलाको दायाँ हात, बायाँ पाखुरामा र अनुपको टाउकोमा खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

घाइतेहरूलाई सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्ता सिटी अस्पताल पठाइएको छ । परिवारसहित तीन जनामाथि कुखुरी प्रहार गरेपछि देउमानले छिमेकीको गोठमा झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ । घटनामाथि थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले बताए ।

 
 
  
 

You may also like