सरकारी लिखत कीर्ते गरी ४३ करोडको भवन निर्माण, व्यवसायी महर्जन पक्राउ

काठमाडौं। सरकारी र सार्वजनिक लिखत कीर्ते गरेको आरोपमा ‘क’ श्रेणीको निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सनका सञ्चालक रविन्द्र महर्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१८ घर भएका महर्जनलाई बुधवार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले बताए । सरकारी निकायले आह्वान गरेको निर्माण सम्बन्धी टेण्डर लिनका लागी उनले नक्कली अनुभवको प्रमाणपत्र बनाएर पेश गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिको लेटर प्याड कीर्ते गरेर महर्जनले रौतहटको चन्द्रनिगाहापुरमा निर्माण नै नभएको बहुतले भवनको ‘निर्माण सम्पन्न भएको प्रमाणित’ पत्र बनाएका छन् । गुम्बा विकास समिति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्छ ।

‘अनुभवको प्रमाणपत्र’ मा गुम्बा विकास समितिका योजना अधिकृत गंगा कुमारी गुरुङ र शाखा अधिकृत दीर्घकुमारी गुरुङको हस्ताक्षर दुरुपयोग गरिएको छ । सो अनुभवको प्रमाणपत्र महर्जनले सरकारका विभिन्न निकायले आह्वान गरेको बोलपत्रमा भाग लिँदा पेश गरेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ ।

रौतहटको चन्द्रनिगाहापुरमा ४३ करोडको काम सम्पन्न भएको नक्कली अनुभवको प्रमाणपत्र प्रहरीले बरामद गरेको छ । ५१ वटा बोलपत्रमा उनले कीर्ते कागजात पेश गरेको डिआईजी थापाले बताए । महर्जनबिरुद्ध सिआईबीले किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

 
 
  
 

You may also like