बुटवलमा बन्ने भयो जितगढी (बटौली) युद्ध संग्रहालय,,बटौली पर्यटन सर्किटको महत्वपूर्ण संरचना

२४ महिनामै सक्नेगरि निर्माण सुरु
बुटवल । बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहरका रुपमा रहेको पुरानो बुटवल (बटौली) लाई जोड्नेगरि संग्रहालय निर्माण सुरु भएको छ ।


यो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालिन नेपाल–अंग्रेज युद्ध ताकको झल्को दिनेगरि निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो । यसको नगिचै रहेको ऐतिहासिक सम्पदा जितगढीलाई उपमहानगरले अलग्गै गुरुयोजना बनाएर संरक्षण र सम्बद्र्धन गरिरहेको छ ।


जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त महत्वपूर्ण संरचनाको बुधबार एक समारोहका बीच शिलान्यास भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले उक्त ऐतिहासिक संग्रहालयको शिलान्यास गर्नुभएको हो ।

राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै सोही अन्तर्गतको एउटा कामका रुपमा संग्रहालयलाई लिइएको प्रमुख सुवेदीले बताउनुभयो ।
प्रमुख सुवेदीले प्राचीन सहरले जन्माएका सबै उपसहरहरुलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने बताउँदै उहाँले बु्टवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताउनुभयो ।

जितगढी किल्ला पसिरमा कर्णेल उजिरसिंहको ९ फिट उचाइको पूणर्कदको शालिक, उनीसंगै लडेका नेपाली सेनाका १३ जना सहीदको शालिक निर्माण भएको छ । साथै त्यहीँ ४२ फिटको नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।
संग्रहालय निर्माणले बुटवलको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । जितगढीको अलग्गै गुरुयोजना बनाइएको छ भने समग्र पर्यटन सर्किटको योजनामा तत्कालीन मणिमुकुन्द सेनको दरबार, ऐतिहासिक नुवाकोटगढी, आदिमावनको अवशेष फेला परेको रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर पर्यटकीय स्थल बनाइरहेको छ ।

हिलपार्कलाई बुटवल उपमहानगरले बुद्ध पहिचान पार्कका रुपमा विकास गर्न लागेको छ । यहाँको गुरुयोजना तयार भएको छ । यहाँ बिग बुद्धको प्रतिमा राखिने छ र ध्यान केन्द्र समेत बनाइने छ ।

उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा पर्यटनलाई समृद्धिको एउटा आधारका रुपमा लिइएको बताउँदै प्रमुख सुवेदीले गुरुयोजना अनुरुपका कामलाई क्रमश अगाडि बढाइने बताउनुभयो ।
बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजना तय भएका छन् । योजना बनाउनुअघि १९ वटै वडाका सबै टोलमा पुगेर सुझाव संकलन समेत गरिएको थियो ।

अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ भने भूउपयोग नीति, नयाँ सहरी ऐनको कार्यान्वयन गर्दै नयाँ उपसहर अर्थात् सेटेलाईट सिटी निर्माणका काम समेत सुरु गर्न लागिएको प्रमुख सुवेदीले बताउनुभयो ।

बुटवल वडा नं. १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगर मातहतको करिब तीन कट्ठा जग्गामा अहिले उक्त संग्रहालय बनाउन सुरु भएको छ । संग्रहालय भवनको आकृति जितगढी किल्लाको जस्तो हुने छ । यो भवन चार तलाको बन्ने छ ।

पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरि क्याफे रहने छ । यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनोहरु राखिएको शोभिनियर सप रहने छ ।

छ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो । निर्माणकार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता भएको थियो ।
बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुक पाहुनाहरुलाई पनि झल्को देखाउने र बुद्धावलीको प्राचीन बटौली देखि हालको बृहत्त बुटवलको अवस्थाका बारेमा जानकारी गराउने खालको संग्रहालय निर्माण गर्न लागिएको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।

शिलान्यास समारोहमा सहभागी नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, नेकपा एमालेका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीलगायतले निर्माणकार्यको सफलताको कामना गर्दै उपमहानगरले गुरुयोजना कार्यान्वयनमा देखाएको तदारुकताको प्रसंशा गर्नुभयो ।

निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि इन्जिनियर प्रभाकर लामिछानेले तोकिएको समय अगावै निर्माण सक्नेगरि काम गरिने प्रतिवद्धता जनाउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधि, टोलविकास संस्था र स्थानीय समुदायको सहकार्य र समन्वयमा कामलाई प्रभावकारी बनाइने बताउनुभयो ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले निर्माणकार्यका लागि आवश्यक पर्ने समन्वय र सहकार्यमा उपमहानगरले कुनै कसुर बाँकी नराख्ने भन्दै निर्माण कम्पनीको प्रतिबद्धताको सराहना गर्नुभयो ।

सहरी पूर्वाधार विकास प्रमुख तथा उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठ, वरिष्ठ इन्जिनियर तथा संग्रहालय बन्ने आयोजनाका साइट इन्जिनियर गौतम रौनियारलगायतले ऐतिहासिका सम्पदालाई झल्किने गरि संग्रहालयको डिजाइन गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गर्दै वडा नं. १ का अध्यक्ष महेन्द्रप्रसाद लिगलले समुदाय स्तरबाट सहयोग र सहकार्य रहने बताउँदै तोकिएको समयमै निर्माणकार्य सक्ने प्रतिबद्धताले आफुहरुलाई खुशी लागेको बताउनुभयो ।

 

 
 
  
 

You may also like