तल्काल स्थायी कमिटी बैठक बोलाउन नेपाल–खनाल समूहको माग

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वैठक बोलाउन ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

वरिष्ठ नेता नेपाल र खनाल पक्षीय स्थायी कमिटी सदस्यहरुले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् । आज (बिहीबार) काठमाडौंको बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल–खनाल पक्षीय स्थायी कमिटीको बैठकले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिएका छन् । ‘अहिलेको परिस्थितिबारे समीक्षा गर्न र अगाडि कसरी जाने भन्नेबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाउन माग गर्ने भन्ने हाम्रो निष्कर्ष रह्यो’, उपाध्यक्ष रावलले सुनाए ।

उनले अहिलेको परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक नै बस्नु पर्ने भए पनि तत्कालका लागि स्थायी कमिटी बैठक बोलाउन आग्रह गरिएको बताए । सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई खारेज गरेपछि नेपाल समूहले पार्टीभित्रै रहेर आन्तरिक संघर्ष गर्ने निष्कर्ष निकालेको थियो ।

एमाले र माओवादी भिन्दाभिन्दै पार्टी भएपछि माओवादी केन्द्रले स्थायी समितिको बैठक राखिसके पनि एमालेको दुई समूहबीच भने अहिलेसम्म औपचारिक वार्ता समेत भएको छैन ।
बरु एमालेकै ओली र नेपाल समूहबीच केही जिल्लामा झड्प समेत भएका छन् । उपाध्यक्ष रावलले अध्यक्षले तत्काल बैठक बोलाउनु पर्नेमा अहिलेसम्म नबोलाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

‘सर्वोच्चको आदेशअनुसार एमाले पुनर्स्थापित भइसकेको यतिका दिन भइसक्यो, अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाउनु र छलफल समेत नगर्नु चिन्ताको विषय हो’, उनले भने, ‘त्यसैले तत्काल छलफलका लागि बैठक बोलाउन माग गरेका हौं ।’

उनले थपे, ‘यति ठूलो नेकपा त हामीले गुमायौ, फेरि एमालेको शक्ति पनि गुमाउनु पर्ने त होइन भन्नेमा हामीलाई चिन्ता लागेको छ’, स्थायी कमिटी सदस्य समेत रहेका रावलले भने, ‘सर्वोच्चको फैसलासँग अमिल्दा र कतिपय स्थानमा गुण्डागर्दी समेत बढेका छन् त्यस्ता गतिविधि बन्द हुनुपर्छ

 
 
  
 

You may also like