काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य र सहयात्रा हुन नसक्ने स्पष्ट पारेका छन् ।
आज (बुधबार) संसद बैठकबाट बाहिरिने क्रममा अध्यक्ष यादवले आफूहरु संघीयता र लोकतान्त्रिक गणतन्त्र पक्षधरसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । ओली नेतृत्वको वर्तमान सरकारलाई सत्ताबाट हटाउने आफ्नो पार्टीको मूल ध्यये रहेको बताउँदै उनले भने, ‘ओलीसँग सहकार्य त के सहयात्रा समेत हुँदैन ।’
उनले मधेसका मुद्दालाई हल गर्ने र संविधान संशोधनलाई अगाडि बढाउने शक्तिसँग सहकार्य गर्ने बताएका छन् । ‘लोकतन्त्रको रक्षाका लागि, संघीय गणतन्त्रका रक्षाका लागि, संघीयता पक्षधर शक्तिहरुसँग सहकार्य गर्न सक्छौं । जसले हाम्रा मधेसका मुद्दाहरुलाई समर्थन गर्दछ । संविधान संशोधनलाई अगाडि बढाउँछ । त्यस्ता शक्तिहरुसँग सहकार्य गर्ने हो ।’
अध्यक्ष यादवले थपे, ‘त्यो शक्ति भनेको नेकपा एमाले होइन् । त्यो विगतदेखि हामीले अहिलेसम्म जाँचपरक टेस्ट गरेर व्यवहारमा हेरिसकेका छौं । अहिलेको सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुनै सक्दैन ।’