नहरपुर माविलाई भवन बनाउन साढे चार करोड प्रदान

बुटवल। बुटवल उपमहानगरको नहरपुर माविका लागि भवन निर्माण सहयोगार्थ भारत सरकारले करिब साढे चार करोड रुपैयाँ सहयोग गरेको छ । बुटवल–११, नहरपुरमा रहेको नहरपुर माविको भवन निर्माणका लागि उक्त रकम सहयोग गरेको छ ।

विद्यालय भवन निर्माणका लागि आवश्यक पर्ने रकमका लागि बुटवल उपमहानगरपालिका, भारतीय राजदुतावास र नेपाल सरकारबीचमा हालै काठमाण्डौंमा सम्झौता भएको बुटवल उपमहानगरपालका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

उक्त विद्यालयका लागि नयाँ भवन बनाउन भारत सरकारले दुताबासमार्फत चार करोड ४१ लाख ६६ हजार ९ सय ३४ रुपैयाँ उपलव्ध गराउने विषयमा महत्वपूर्ण सम्झौता भएको प्रमुख सुवेदीले बताउनुभयो ।

सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका अण्डर सेक्रेटरी प्रल्हादकुमार कार्की, बुटवल उपमहानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा र भारत सरकारका तर्फबाट विकास साझेदार हेर्ने पर्फुल्लाहचन्द्र शर्माले हस्ताक्षर गर्नुभएको छ ।

नहरपुर माविका प्राचार्य धनिश्वर गौतमले दीर्घकालीन महत्व राख्नेखालको नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर व्यवस्थित काम गरिएको बताउनुभयो । उहाँले सहयोगका लागि आउने रकमबाट नहरपुर माविमा अब २० कोठाको अत्याधुनिक भवन निर्माण हुने बताउनुभयो । भवन निर्माणका लागि उपमहानगरपालिकाबाट टेण्डर आह्वान समेत भइसकेको भन्दै उहाँले पहल गर्ने तीनै तहका जनप्रतिनिधिहरुप्रति आभार प्रकट गर्नुभयो ।

काठमाण्डमौंमा हालै आयोजित विशेष समारोहमा नेपाल सरकारका प्रतिनिधिको उपस्थितिमा बुटवल उपमहानगरपालिका र भारतीय दुतावासका बीचमा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
बुटवलको शैक्षिक पूर्वाधार विकासमा मित्रराष्ट्र भारतबाट भएको यो महत्वपूर्ण सहयोग प्रति उपमहानगरले आभार प्रकट गरेको छ । नहरपुर मावि २०२७ साल मंसिर २७ गते स्थापना भएको हो । तीन विगाह चार कट्ठा बराबरको क्षेत्रफलमा रहेको यो विद्यालय उपमहानगरको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा विकास भइरहेको छ ।

यहीँ विद्यालयमा अध्यय्न गर्ने मजदुरका सन्तानलाई लुम्बिनी प्रदेश सरकारका मन्त्री लिला गिरी र उपमहानगरका प्रमुख शिवराज सुवेदीले अभिभावकत्व समेत लिएर नियमित चासो राख्नुभएको प्राचार्य गौतमले बताउनुभयो । यहाँ आधारभूत देखि कक्षा १२ सम्म गरि एक हजार तीन सय भन्दा धेरै विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

उपमहानगरपालिकाको बजेटमा यहाँ आधुनिक सभाहल निर्माण भइरहेको र विद्यालय परिसर थप व्यवस्थित बनाउने काम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोरप्रसाद पोखरेलको भनाइ छ ।

बुटवलमा देशमै उत्कृष्ट सामुदायिक विद्यालय

देशभरका सामुदायिक विद्यालयहरुमा बुटवल उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालय उत्कृष्ट छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरबाट छनौट गरेका ९९६ सामुदायिक विद्यालयहरुमा गरेको मूल्यांकनबाट यो उत्कृष्ट नतिजा हासिल भएको हो । त्यसमा नहरपुर मावि पनि उत्कृष्ट भएको छ ।
उत्कृष्ट नतिजा हासिल गर्ने क्रममा विभिन्न क्षेत्र र जिम्मेवारीमा रहेर हरदम खट्नुहुने मेहनती शिक्षक, अनुशासित र लगनशील विद्यार्थी, जुझारु विद्यालय व्यवस्थापन समिति, निरन्तर जवाफदेहीता वहन गर्ने अभिभावकहरु सबैप्रति उपमहानगरले धन्यवाद ज्ञापन गरेको छ ।

उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले नयाँ शैक्षिक शत्रलाई अझ उपलव्धिमूलक बनाउन र हौसला कायम राख्नेगरि उपमहानगरले विशेष शिक्षा योजना बनाइरहेको बताउनुभयो ।
शिक्षा ऐनमा रहेको व्यवस्थाअनुसार स्वतन्त्र प्रकृतिको निकायको रूपमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण र शैक्षिक संस्थाहरूको कार्यसम्पादन मूल्यांकन परीक्षणको काम गर्दै आएको छ । सोही आधारमा देशभरका नमुना बनिरहेका सामुदायिक विद्यालयको छनौट गरेर स्वतन्त्र ढंगले मूल्यांकन गरिएको हो ।

शिक्षा क्षेत्रमा बुटवलका नमुना काम

देशभरमै पहिलोपटक पालिकास्तरमा शैक्षिक संगोष्ठि गर्ने, स्थानीय पाठ्यक्रम बनाउने, स्थानीय पाठ्यपुस्तकबाटै पठनपाठन गराउनेमा बुटवल उपमहानगर मुलुकमै पहिलो पालिका पर्दछ । शैक्षिक गुणस्तर विकासमा पछिल्ला केही वर्ष यता बुटवल उपमहानगरले फड्को मारेको छ । खासगरी जनप्रतिनिधि निर्वाचित भएपछि तीनै तहका सरकारसंगको समन्वयमा यहाँको शैक्षिक विकासमा महत्वपूर्ण काम भएका छन् ।
बुटवल उपमहानगरअन्तर्गत ३९ सामुदायिक विद्यालय छन् । यीमध्ये रात्रि मावि, महिला विद्यालय, खुला विद्यालय, विशेष विद्यालय (सुस्तमनस्थिति), गुरुकुल विद्याश्रम र ३ वटा मदरसा विद्यालय सञ्चालनमा छन् । कक्षा १ देखि १२ सम्म बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या करिब २३ हजार रहेको छ ।

 
 
  
 

You may also like