राजनीतिक अन्योलबीच आज पुनर्जीवित प्रतिनिधिसभा वैठक, के–के छन् कार्यसूचीमा ?

काठमाडौं। राजनीतिक अन्योलका बीच पुनर्जीवित प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापना भएपछि पहिलो बैठक आज बस्न लागेको हो । संसद् बैठक अपराह्न ४ बजे बस्दैछ ।

यसका लागि संसद् सचिवालयले सम्भावित कार्यक्रमका सूची तयार पारेको छ । जसअनुसार बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । यस्तै राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइने छ । अनि सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिने छ ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ । यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गर्ने कार्यक्रम छ । तर बैठक शुरु हुनुअघिसम्म सम्भावित कार्यक्रम थपघट हुन सक्ने संसद् सचिवालयले जनाएको छ ।

अधिवेशन शुरु भएपछि अन्त्य हुने अवधिसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने वा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे त्यसमाथिको कारबाही अघि बढ्ने छ । प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिए संसद् अधिवेशनमा अविश्वासको प्रस्तावबाट वा अन्य विकल्पबाट प्रधानमन्त्रीबाट ओलीलाई हटाउने रणनीति अघि सार्दै नेकपा प्रचण्ड–नेपाल समूह लागिरहेको छ । प्रधानमन्त्रीले राजीनामा नदिए आइतबार नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा प्रचण्ड–नेपाल समूह छ ।

यता नेकपाको ओली समूह भने वैठकमा सभामुख सापकोटाको भूमिका अनुसार प्रस्तुत हुने तयारीमा छ । प्रचण्ड–नेपाल समूहप्रति सभामुख लचिलो देखिए वैठक अवरुद्ध बनाउने रणनीतिमा ओली समूह छ । संसद् विघटन प्रतिगामी कदम भएको जनाउँदै सडकमा नेकपाकै प्रचण्ड–नेपाल समूह, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक समाज, सञ्चार क्षेत्र सबैले त्यसको विरोध गरेका थिए ।

संसद् पुनर्स्थापनाको १२ दिनसम्म पनि प्रधानमन्त्री ओलीबाट राजीनामा नआएपछि अबको बाटो कसरी तय गर्ने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी जसपासँग प्रचण्ड–नेपाल समूहले संयुक्त बैठक गर्न सकेन । संसदमा प्रधामन्त्रीले विश्वासको मत लिने र अविश्वासको प्रस्ताव दर्ता हुने विषयमध्ये कुन प्रस्ताव अघि बढ्छ भन्ने विषयमा कांग्रेस र जसपाको अन्तिम निर्णयको पर्खाइमा नेकपाका दुवै समूह देखिन्छन् ।

असंवैधानिक कदम चालेर संसद् विघटन गर्ने प्रधानमन्त्रीले राजीनामा नै दिनुपर्ने प्रमुख माग नेकपा प्रचण्ड–नेपाल समूहको छ । प्रधानमन्त्रीबाट राजीनामा नआए अविश्वासको प्रस्ताव ल्याएर हटाउने दाबी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् । तर प्रधानमन्त्री ओलीले न त शनिबारसम्म राजीनामा नै दिए, न त दाहाल–नेपाल समूहले अविश्वासको प्रस्तावमा बहुमत नै पुर्‍याउन सकेको छ । उनले शनिबार संसदीय दलको बैठक बोलाएर आफूले राजीनामा नदिने स्पष्ट पार्दै संसदमा त्यहीअनुसार प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिए । त्यसबाट आइतबारबाट शुरु हुने अधिवेशन कसरी अघि बढ्छ भन्ने अन्योल बढेको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता नहुने, प्रधानमन्त्रीले आफैं विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने हो भने प्रधानमन्त्रीले संसद् अधिवेशन एक दिनमै अन्त्य गर्न सक्ने दाहाल–नेपाल समूहले आशंका गरेको छ ।

संसदा बहुमत पुग्न १३८ सदस्यको समर्थन आवश्यक पर्छ । ओली समूहको प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ११५ जना रहेको दाबी गरे पनि हस्ताक्षर गर्ने स्थायी सांसदको संख्या ८१ भन्दा माथि छैन । प्रचण्ड–नेपाल समूहमा प्रचण्डलाई संसदीय दलको नेता बनाउन निर्णयमा भाग लिने सांसदको संख्या ११५ जना पुगेको बताइएको छ । १७३ सिट रहेको नेकपा विभाजनको संघारमा पुगेकाले एउटा समूहले बहुमत सदस्य आफ्नो पक्षमा लैजान निकै कठिनाइ रहेकाले अन्य दलको सहायताको आवश्यकता देखिएको हो ।

 
 
  
 

You may also like