ओलीको फुर्ती देखाउने दिन गए, थोरै नैतिकता भए राजीनामा दिए हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले फुर्ति देखाउने दिन गएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘धेरै फुर्ती नदेखाउनुहोस् । तपाईंका फुर्ती देखाउने दिन गए ।’

उनले आफूहरुले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन सुझाव दिए । उनले भने, ‘केपी ओलीलाई पनि हामी अन्तिम मौका दिइरहेका छौं । राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भए पनि देखाउनुहोस् । नभए इतिहासमा तपाईं सधैंभरी कलंकित मात्रै हुनुहुनेछ ।’

उनले प्रधानमन्त्री ओलीले प्रतिगमनको कदम चालेर आफैले बनाएको संविधानलाई मृत अवस्थामा पुर्‍याएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा पुर्‍याउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी गरे । ‘कम्युनिष्ट विचार बोक्नेहरु प्रतिगमनमा पनि लाग्दा रहेछन् भन्ने एउटा उहाँले नकारात्मक उदाहरण दिनु भएको छ। विगतमा पनि कम्युनिष्ट आन्दोलनमा लागेका मान्छे दक्षिणपन्थी दिशामा बिर्सजन भएर गएका छन् । यो नौलो कुरा होइन । त्यसबाट हामी निरास हुँदैनौं,’ उनले थपे, ‘केपी ओलीको कदमविरुद्ध सिंगो देश नै आन्दोलित, तरंगीत भयो । यो पार्टी मात्रै होइन संसद्मा भएका राजनीतिक दलहरु पनि आन्दोलनमा उत्रिए ।’

सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको उनले उल्लेख गरे पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री ओली पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको उनले टिप्पणी गरे ।

उनले भने, ‘गलत प्रवृत्ति बोकेका केपी ओली पार्टीको अध्यक्षबाट निष्कासित भइसकेपछि पनि, पार्टी सदस्यबाट हटिसकेपछि पनि अटेर भएर अझै पनि कुनै नैतिकता नराखेर ,सर्वोच्चको फैसलापछि पराजित भइसकेपछि पनि पदमा टाँसिएर बसेको देख्दा सारा दुनियाँ आश्चर्यचकित छन् । कस्ता सन्तान नेपाली आमाले जन्माएछन् भनेर ।’

उनले पार्टी नाम र चुनाव चिन्हको संघर्ष जारी नै रहेको भन्दै कसैले पनि आफूहरुप्रति कर्केनजर नलगाउन चेतावनी दिए । उनले भने, ‘कसैले पनि कर्के आँखा नदेखाए हुन्छ । मुल पार्टी यही हो । सूर्य चिन्ह यही पार्टीको हो । कसैले खोसेर लान सक्दैन । केपी ओलीसँग अझै पनि अलमलिएर बसेका मान्छेहरुलाई भ्रमबाट मुक्त भई मुल पार्टीमा समाहित हुन आग्रह गर्दछु ।’

नेत्रविक्रम चन्द राजनीतिको मूलप्रवाहमा आए पनि कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा आउन बाँकी रहेकाले आफूहरु कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा चन्दलाई स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको उनले बताए । कार्यक्रममा पदम राई र बिमल अधिकारीको नेतृत्वमा युवाहरुलाई पार्टी प्रवेश गराइएको थियो ।

 

 
 
  
 

You may also like