पार्टी र देशलाई गतिशील बनाउँदा ममाथि प्रहार गरियो : प्रधानमन्त्री

पोखरा। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र देशलाई गतिशील र प्रभावकारी रुपमा चलाएकाले आफूमाथि प्रहार भएको बताएका छन् । आज (सोमबार) पोखरामा आयोजित आफू पक्षीय गण्डकी प्रदेशस्तरीय भेलामा प्रधानमन्त्री ओलीले विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले आफूमाथि तीव्र गतिमा प्रहार भएको जिकिर गरेका हुन् ।

उनले भने, ‘हिजो मात्र झापामा १३ वटा पुल शिलान्यास गरें, तीन वर्षमा कति विकास भयो होला आफै अनुमान गर्नुस् ।’ ‘यस पार्टीको नेतृत्वमा म भएको हुनाले, यस पार्टीलाई ठिक ढङ्गले अगाडि बढाइरहेको हुनाले, सरकार ठिक ढङ्गले चलाइरहेको हुनाले, सरकार गतिशील र प्रभावकारी रुपमा चलिरहेको हुनाले, विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले ममाथि प्रहार गरियो । सम्पूर्ण रुपमा ममाथि अत्यन्तै तीव्र गतिले प्रहार गरियो,’ ओलीले भने ।

उनले आफूमाथि कुनै प्रकारको शारीरिक हमला नै भए पनि अनौठो नमान्न समेत बताए । ‘यदि म माथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यानमाथि तलमाथि भइहाल्यो भने पनि तपाईंहरु अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन, हामी सतर्कता अपनाउछौं,’ उनले भने, ‘म रहिन भने पनि केही छैन । आन्दोलन छ, पार्टी छ । यस आन्दोलनले प्रतिक्रियावादी तत्व र तिनका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन । देशको भविष्य अन्धकारमा जान दिनु हुँदैन । पार्टीको भविष्य अन्धकार हुन दिनु हुँदैन ।’

‘चार वर्ष मेरो डेरा यहीं थियो’
प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा आफू पोखरामा डेरा गरेर बसेको र यस क्षेत्रको बारेमा जानकार रहेको बताएका छन् । सोमबार पोखरामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यासपछि उनले गण्डकी प्रदेशका सम्भावना र विकासबारे आफू जानकार रहेको बताएका हुन् । झापा विद्रोहपछिको १४ वर्षे जेल जीवनको क्रममा उनी तीन वर्ष पोखरा र एक वर्ष स्याङ्जा कारागारमा रहेका थिए ।

‘मेरो ठेगाना रत्ननगर, पार्दी थियो । म तीन वर्ष यहाँ बसेको हुँ । पोखरा, गण्डकीको बारेमा कसरी थाहा भयो भन्नुहोला । म यहीँ डेरा गरेर बस्थें’, उनले भने । जेलमा बस्दा आफूले पोखराको नक्सा बनाएको उनले सुनाए । ‘मैले नक्सा पनि बनाएको थिएँ । नक्सा देखेर जेलरले अचम्म मान्दै कसरी सही नक्सा बनाउनु भयो भनेर सोधेका थिए’, उनले भने, ‘म अध्ययनशील मान्छे हो ।’

 

 
 
  
 

You may also like