गुल्मीमा स्याउला र ढुङ्गाले ढाकेको अवस्थामा बोरामा भेटियो युवतीको शव

गुल्मी। गुल्मीमा एक युवतीको शव स्याउला र ढुङ्गाले ढाकेको अवस्थामा बोरामा शव फेला परेको छ ।गुल्मीको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिएका छन् । शवको पहिचान भइनसकेको उनले बताएका छन् ।

स्थानीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको डीएसपी पाण्डेले बताएका छन् । शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ ।

सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् । भेटिएको शव उनकै हुनसक्ने प्रहरीको अनुमान छ । सम्झनाको माइती पक्ष घटनास्थलमा अझै नपुगेकोले शव पहिचान हुन सकेको छैन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते सासु तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

 

 
 
  
 

You may also like