ओलीको चुनौती : मलाई प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्

by समतल अनलाइन

झापा। प्रतिनिधि सभा पुनस्र्थापना भएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड–नेपाललाई चुनौती दिएका छन् ।

आज (आइतबार गृह जिल्ला झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै प्रधामन्त्री ओलीले मुद्दा लडेर संसद फिर्ता ल्याए जस्तै आफूलाई अविश्वासको प्रस्ताव राखेर हटाउन चेतावनी दिएका हुन् । उनले आफूलाई अविश्वासको प्रस्ताव राखेर हटाए जनतामा गएर दुई तिहाइ ल्याई दिने दावी गरे ।

‘उहाँहरु मसँग हात थाप्न थाल्नु भएको छ राजीनामा गरिदिनुहोस् भनेर । तपाईंहरुले लडेर जब संसद फिर्ता गरेर ल्याउनु भएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् न’, उनले थपे, ‘अविश्वासको प्रस्ताव राख्नुहोस्, पास गर्नुहोस् । पहिला पनि अविश्वासको प्रस्ताव राखेर हटाएको हो, म जनताबाट निर्वाचित भएर आएको हुँ । अहिले पनि तीन करोड नेपाली जनताबाट दुई तिहाइ ल्याएर देखाई दिन्छु ।’

उनले आफू मुद्दा जितेर नभई जनताबाट निर्वाचित भएर, जनताको आशीर्वाद लिएर प्रधानमन्त्री भएको बताउँदै मुद्दा हार्दैमा आफूलाई केही फरक नपर्ने बताए । ‘म त जीन्दगीमा मुद्दा हार्दै आएको मान्छे हो, उहिले पनि मुद्दा हारेकै हो । गल्ती नगर्ने, मुद्दा हार्ने, गल्ती नगर्ने, मुद्दा हार्ने कुरा निरन्तर भोगेकै हो ।’

उनले भने, ‘कसैले मुद्दा जिताई दिएर म प्रधानमन्त्री भएको होइन । मलाई तीन करोड नेपाली जनताले प्रधानमन्त्री बनाई दिएको हो ।’ उनले आफूहरुले बलिदानी गरेर ल्याएको लोकतन्त्रलाई तलमाथि पर्न नदिने समेत दावी गरे ।

 
 
  
 

You may also like