अलमलमा रहेको कांग्रेसलाई डा. भट्टराईको प्रश्न, ‘संसद विघटन कि सेटिङ नै हो ?’

by समतल अनलाइन

काठमाडौं। प्रतिनिधिसभा विघटनका विषयमा कांग्रेसका नेतापिच्छे फरक–फरक धारणा आइरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव भन्ने हुनु दुःखद भएको बताएका छन् ।

भट्टराईले चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुखद भएको बताएका हुन् । कांग्रेस नेतृत्वले चुनावमा जाने या असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जाने भन्ने निर्णय गर्न नसकिरहेका समयमा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताले चुनावमा जानुपर्ने बताउँदै आएका छन् ।
मंगलबार ट्वीट गर्दै अध्यक्ष भट्टराईले चुनाव भनेको ढिलो छिटो हुने नै हुँदा ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा गए संविधान धरापमा पर्ने तर्क गरेका छन् ।

संसद पुनर्स्थापनापछि चुनावमा जाँदा पनि कांग्रेसको दुवै हातमा लड्डु हुने कुरा कांग्रेसले किन नबुझेको उनको प्रश्न छ । ओलीको असंवैधानिक कदम नसच्चिई कांग्रेसका केही नेताले चुनावलाई महत्व दिएकोमा कतै यो सब सेटिङ्ग नै त हैन भट्टराईले आशंका व्यक्त गरेका छन् ।
कांग्रेसमा संस्थापन पक्ष अदालतको निर्णय कुर्दै चुनावमा जानुपर्ने बताइरहेको छ भने यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जानुपर्ने अडानमा छन् ।

उनीहरुले संविधानलाई नै धरापमा पार्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा जान कांग्रेसले अलमल गर्न नहुने बताइरहेका छन् । आन्दोलनमा जानुपर्ने बहुमत केन्द्रीय सदस्यको मतलाई सभापतिले टार्न नसकेका कारण कांग्रेस आन्दोलनमा गए जस्तो गरिरहेको छ ।

तर सभापति देउवाले भने पार्टी चुनावमा जानुपर्ने तर्क गर्दै आएका छन् । कांग्रेसमा चुनावमा जाने या प्रतिगमनविरुद्ध आन्दोलन गर्नेमा मत मतान्तर भएकाले कांग्रेसको आन्दोलन सशक्त हुन सकेको छैन ।

 
 
  
 

You may also like