पश्चिमी वायुको प्रभाव : हिमाली क्षेत्रमा हिमपात र पहाडी भेगमा बर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं। पश्चिमी वायुको प्रभावले हाल देशका केही स्थानमा सामान्यदेखि आंशिक बदली रहेको छ । यसको सामान्य प्रभाव अझै केही दिन रहनेछ ।
आज देशभर दिनैभरि बादल र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ‘देशैभर बादल लाग्ने देखिन्छ । घाम लागिहाले पनि पातलो लाग्नेछ’, महाशाखाकी मौसमविद् गंगा नगरकोटीले भनिन् ।

बादल लागे पनि देशभर तत्काल वर्षाको सम्भावना नदेखिएको उनले बताइन् । कतै–कतै क्षणिक फाट्टफुट्ट वर्षा भने हुनसक्ने उनको भनाइ छ । आज बिहान पौने ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको उनले जानकारी दिइन् ।

आज देशभर घाम राम्रोसँग नलाग्ने र मौसम राम्रोसँग नखुल्ने मौसमविद् नगरकोटीको भनाइ छ । यस्तै तराईका केही ठाउँमा बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश–१ का केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ ।

 
 
  
 

You may also like