हिटलरी शैलीमा अगाडि बढेका ओलीलाई सडकबाटै घुँडा टेकाउनु पर्छ : चित्रबहादुर केसी

by समतल अनलाइन

अर्घाखाँची। राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले हिटलर शैलीमा अगाडि बढिरहका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकबाटै घुँडा टेकाउनु पर्ने बताएका छन् ।

प्रगतिशिल पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमकाविरुद्ध सबै दल र नागरिक मिलेर आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने बताए ।

अध्यक्ष केसीले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण देश संकटमा फसेको बताए । ाष्ट्रपति संविधानको रक्षक पनि भएकाले प्रधानमन्त्रीले गरेको सिफारिस विचार गरेर मात्र कार्यन्वयन गर्नुपर्ने बताए ।

गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियता बचाउन ओलीले चालेको प्रतिगामी कदमका विरुद्ध नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–माधब समुह, मधेसवादी दल लगायतका सबै दलहरु ०६२–६३ को जन आन्दोलनमा जस्तै एक भएर आन्दोलनको आँधीबेहरी सिर्जना गर्नु पर्ने अवस्था आएको बताएका छन् ।

देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता बचाउन संसद पुनस्र्थापनाको विकल्प नभएको कारण संसद पुनस्र्थापनाका लागि राष्ट्रियस्तरमा सर्वदलिय आन्दोलन जरुरी रहेको उनको भनाइ छ । राष्ट्रिय जनमोर्चा केन्द्र, प्रदेश र स्थानीय तहमा दलसँग सहकार्य गरेर आन्दोलन गर्न तयार रहेको बताएका छन् ।

अध्यक्ष केसीले भारतको इशारामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको समेत आरोप लगाए । उनले दरवारीय र संकृणवादी कम्युनिष्टका कारण नेपाली जनताको लामो संघर्ष र वलिदानीबाट प्राप्त भएको गणतन्त्र खतरामा परेको बताएका छन् ।

संसद विघटन भएपछि दरवारिया र विदेशीको चलखेल शुरु भएको उनले बताएका छन् । अमेरिकाले भनेको एमसीसी पारित नहुँदा र भारतले हडपेको लिम्पियाधुरा र कालापानीलगायतको भूभाग समेटेर नक्सा पारित गरेपछि उनीहरुकै इशारामा ओलीले संसद विघटन गरेको उनको आरोप छ । उनले प्रधानमन्त्री ओलीले विघटन गरेको संसद पुनस्र्थापना नभए देशमा संकटकाल लाग्ने बताए । संसद पुनस्र्थापनाको पक्षमा सबै दलहरु एक भएर आन्दोलन गर्नुपर्नेमा उनले जोड दिए ।

 

 
 
  
 

You may also like