चौतर्फी दवावपछि ‘राज्यद्रोह’ आरोपमा समातिएकी रामकुमारी झाँक्री पाँच घन्टामा रिहा

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तिव्र दबाबपछि पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । राज्यविरुद्धको कसुर अर्थात् ‘राज्यद्रोह’ को आरोपमा पक्राउ परेकी झाँक्रीलाई जनस्तरमै चौतर्फी दवाव भएपछि प्रहरीले सामान्य सोधपुछपछि साँझ रिहा गरेको हो ।

नेतृ झाँक्रीलाई उनकै निवास शंखमूलबाट बिहिबार दिउँसो पक्राउ गरी महानगरीय अपराध महाशाखा, मीनभवन लगेको थियो । प्रहरीले करिब पाँच घन्टापछि रिहा गरेको छ । झाँक्रीलाई पक्राउ गर्न लागेको सूचना थाहा पाउन साथ बिहिबार बिहान नेकपाका नेता तथा कार्यकर्ताहरु झाँक्रीको निवास पुगेका थिए । झाँक्रीको निवास सादा पोशाकका प्रहरीले बिहानैदेखि घेराउ गरेपनि नेता तथा कार्यकर्ताहरुले प्रहरीलाई गेट भित्र छिर्न नदिएपछि पटक-पटक झपडको अवस्था बनेको थियो ।

सुरुमा झाँक्रीलाई प्रहरीले बिना पक्राउ पुर्जी पक्राउ गर्न खोजेका थिए । तर, नेतृ झाँक्रीले पक्राउ पुर्जी बिना आफूले गिरफ्तारी नदिने बताएपछि पक्राउ पुर्जी प्रहरीले ल्याएको थियो । प्रहरीले पक्राउ पुर्जी दिएपछि नेतृ झाँक्रीले कार्यकर्ताहरुलाई सम्बोधन गरेर गिरफ्तारी दिन तयार भएको जानकारी दिएकी थिइन् । नेतृ झाँक्रीको सम्बोधन पछि मात्रै कार्यकर्ताहरुले प्रहरीलाई गेट भित्र जान दिएका थिए ।

यसपछि अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले बिहीबार दिउँसो झाँक्रीलाई मुलुकी (अपराध) संहिताको राज्यविरूद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी दिएर पक्राउ गरेका थिए ।

पक्राउपछि चौतर्फी बिरोध

नेतृ भाँक्री पक्राउ लगत्तै रिहाइको माग गर्दै युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा माइतिघरबाट नयाँ बानेश्वरमा जाँदै गरेको टोलीलाई प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थी नेताहरु आरती लामा, मनिषा कार्की, दिपा जैसी, यादब सिंह ठकुरी, ममता अधिकारी, अनु आकुरा, क्षितिज सापकोटा, नवीन थापा लगायत घाइते भएका छन् । उनीहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी देशभर प्रर्दशन भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले झाँक्री पक्राउको बिरोध गरेका थिए । चौतर्फी विरोध र दबाबपछि प्रहरीले झाँक्रीलाई विहिबार साँझ नै रिहा गरेको छ ।

प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो : झाँक्री

रिहा भएपछि नेतृ झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं ।’

नेतृ झाँक्रीले संविधानको धज्जी उठाउनेको बिरुद्ध आफू बोलिरहने बताइन् । उनले भनिन्, ‘राष्ट्रपति संस्था हाम्रो आन्दोलन, लडाइँले स्थापित गरेको हो । तर, त्यहाँ पुग्ने पात्रहरूले जे प्रवृत्ति देखाउँछन् । संविधान र कानुनको धज्जी उडाउँछन् तिनका प्रतिको लडाइँमा सडकमा बाँकी छ ।’

उनले आफूले प्रतिगमनविरूद्धको आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने भूमिका खेलेपछि आफूमाथि सरकारले राजनीतिक रूपले ह्यारेसमेन्ट गरेको बताइन्। भनिन्, ‘नियन्त्रणमा ल्याउने प्रयास भनेको पछिल्लो प्रतिगमनविरूद्धको आन्दोलनमा मैले आफ्नो उपस्थिति र यो आन्दोलनलाई जसरी उत्कर्षमा पुर्‍याउने भूमिकामा थिएँ। त्यही कारणले व्यक्तिगत तथा राजनीतिक हिसाबले ‘ह्यारेसमेन्ट’ गर्ने कदम चालिएको जस्तो लाग्यो र यहाँ अरू केही पनि कुरा भएन ।

 
 
  
 

You may also like