ओलीको खुट्टी हेर्दै थाहा पाइयो, निर्वाचनमा दुई तिहाइ होइन, जमानत जफत हुन्छ : खनाल

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले अहिलेको आन्दोलन नेकपाको दुई गुटको नभई जनताको आन्दोलन भएको बताएका छन् । नेकपाले आज (बुधबार) काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध गरेको सभामा खनालले संयुक्त आन्दोलनका लागि आह्वान गरेका हुन् ।

वरिष्ठ नेता खनालले भने, ‘आउनुहोस्, जनअधिकार खोस्ने केपी ओली सरकारकाविरुद्ध संयुक्त संघर्ष गरौं ।’ उनले सबैले ओलीका कदमविरुद्ध आन्दोलन नै गरिरहेको भन्दै अब संयुक्त आन्दोलनबाट प्रतिगमनलाई परास्त पार्न प्रस्ताव समेत गरे ।

नेता झलनाथ खनालले आगामी निर्वाचनमा केपी ओलीले नेतृत्व गरेको पार्टीको जमानत नै जफत हुने दाबी गरेका छन् । नेता खनालले ओलीले नेतृत्व गरेको नेकपाको आगामी निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रबाट जमानत खोसिने दाबी गरे ।

‘मिस्टर केपी ओली तपाइको खुट्टी हेर्दै पत्यायौं, अबको निर्वाचनमा तपाईको दुई तिहाइ होइन, जमानत जफत हुनेछ, मेची महाकालीका १६५ वटै निर्वाचन क्षेत्रबाट तपाइने नेतृत्व गरेको पार्टीको जमानत जफत हुन्छ,’ नेता खनालले भने ।

उनले पुष्पकमल दाहाल र माधव नेपाललाई प्रधानमन्त्री बनाउन नभएर संविधानको रक्षाका लागि आफ्नो पार्टी आन्दोलनमा उत्रिएको बताए । नेता खनालले प्रधानमन्त्री ओली राजनीतिक र सैद्धान्तिक रूपले पराजित भइसकेकाले पशुपतिनाथमा गएर सङ्कल्प गर्न मात्रै बाँकी रहेको बताए ।

नेता खनालले संसद् विघटनको विरुद्धमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीलाई समेत संयुक्त आन्दोलनको मोर्चामा आउन अपिल गरे । संविधान, लोकतन्त्र र सङ्घीयतालाई बचाउन दलहरू एक ठाउँमा उभिने विश्वास समेत व्यक्त गरेका छन् ।

 

 
 
  
 

You may also like