ओलीले संविधानलाई कोमामा पुर्‍याउन खोजे : देव गुरुङ

by समतल अनलाइन

काठमाडौं । नेकपाका स्थायी कमिटीका सदस्य देवप्रसाद गुरुङले ओलीले लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्रको शासन शुरु गरेको बताएका छन् ।

‘संसद् विघटन भयो भने संविधान विस्थापित हुन्छ, संविधान अपांग हुन्छ र संविधान कोमामा जान्छ,’ उनले भने, ‘आज यो संविधान कोमामा पुर्‍याउने काम भएको छ, लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्रको शासन शुरु गरिएको छ ।’ प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको विरोध सभामा गुरुङले कामचलाउमा परिणत भइसकेको सरकारले तथानामी रूपले राजनीतिक नियुक्ति गरिरहेकोप्रति विरोध गरे ।

गुरुङले ताजा जनादेशको नाममा वैशाखमा चुनावको मिति घोषणा गरे पनि त्यो निर्वाचन नहुने बताए । ‘संविधानले पाँच–पाँच वर्षमा आवधिक निर्वाचन हुने परिकल्पना गरेको छ, त्योभन्दा अर्को निर्वाचन जनताले चिन्दैनन्, नेपाली जनताले चिन्ने भनेको आवधिक निर्वाचन मात्रै हो,’ उनले भने ।

नेता गुरुङले ओलीको प्रतिगमनलाई खारेज गर्नुको विकल्प नभएको भन्दै त्यसका लागि सम्पूर्ण नेपाली जनता एकढिक्का भएर उभिनुपर्ने बताए ।

‘०१७ सालमा महेन्द्रले ‘कु’ गरेका थिए, ०५९ सालमा ज्ञानेन्द्रले ‘कु’ गरे र ओलीले त्यही कु’ को निरन्तरताको स्वरूपमा ‘कु’ गरेका छन्,’ उनले भने, ‘तर, यो कु’ हुन हामी दिँदैनौँ, हामी संविधानको रक्षा गर्न सक्षम छौँ, म सबै नेपाली जनतालाई संविधानको रक्षाको निम्ति उभिन आग्रह गर्दछु ।’ गुरुङले केपी शर्मा ओलीको ‘तानाशाहीतन्त्र’ पतन नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै गुरुङले ओलीको ‘तानाशाहीतन्त्र’ लाई पराजित नगर्दासम्म आन्दोलन जारी रहने बताएका हुन् । संविधान र लोकतन्त्रको रक्षा गर्न जनता विरोधमा आउनुपर्ने उनको भनाइ थियो ।

‘ओलीको तानाशाहीतन्त्र विरुद्ध, गणतन्त्र, लोकतन्त्रको रक्षाका निम्ति नेपाली जनता फेरि एकजुट हुनुपर्ने आवश्यकता छ । जबसम्म केपी ओलीको ‘तानाशाहीतन्त्र’ को पतन हुँदैन, त्यसलाई पराजित गर्न सकिँदैन तबसम्म आन्दोलन जारी रहन्छ,’ गुरुङले भने ।

नेपालको संविधानले पाँच वर्षमा हुने आवधिक निर्वाचनलाई मात्र मान्ने गुरुङको दाबी छ । ‘ताजा जनादेशको नाममा वैशाखमा चुनाव गर्ने भनिएको छ । नेपालको संविधानले पाँच वर्षको आवधिक निर्वाचन मान्छ । ओलीले वैशाखमा चुनाव गर्ने भनेको तानाशाही तन्त्र, फाँसिवादी तन्त्र कायम राख्नु हो । त्यो प्रधानमन्त्रीको रबर स्टाम्पमा बनाइने संसद् हो,’ गुरुङले भने ।

 

 
 
  
 

You may also like