पेट्रोल बोकेको ट्याङ्करसँग ठोक्किँदा क्यामरुनमा बसमा आगलागी, ५३ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । क्यामरुनमा बसमा आगलागी हुँदा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार बुधबार पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किँदा बसमा समेत आगलागी भएको हो ।

स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले भने, ‘दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा छ, उनीहरूको पहिचान गर्न सकिएको छैन ।’ स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे दुर्घटना भएको हो । जलेको बसमा ७० सिट थिए ।

देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा दुर्घटना भएको हो । सरकारी अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले गाडी नियन्त्रण गर्न नसक्दा बससँग ठोक्किएको हुन सक्ने प्रारम्भिक अनुमान छ । एजेन्सी

 
 
  
 

You may also like