बालुवाटारमा नागरिक अभियन्तामाथि बर्साइयो लाठ्ठी र पानीको फोहरा, केही घाइते

by समतल अनलाइन

काठमाडौं। प्रतिगमनविरुद्ध प्रदर्शन गर्दै बालुवाटार पुगेका नागरिक अभियन्ताहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहरा बर्साएको छ । प्रहरीको लाठ्ठी चार्जबाट केहि अभियन्ताहरु घाइते भएका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखकलगायतका अभियन्ताहरुको आज ९सोमबार० को प्रदर्शनमा प्रहरीले दमन गरेको हो ।

आजको प्रदर्शन कमलपोखरी बचाऊ अभियानका अभियन्ता र अन्य सहभागीहरु भेला भई कमलपोखरीको माटो निधारमा लगाएर संयुक्त रुपमा बालुवाटारतर्फ मार्च गरेका थिए । शान्तिपूर्ण प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

अब तेस्रो जनआन्दोलन शुरु भयो : पत्रकार वाग्ले
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन शुरु भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक आन्दोलन भइरहेका बेला प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले सम्बोधन गर्दै तेस्रो जनआन्दोलन शुरु भएको बताएका हुन् ।

‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं । बिना सूचना बर्बर दमन गरियो’, वाग्लेले भने, ‘अब तेस्रो जनआन्दोलन शुरु भयो ।’ उनले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार आफूहरुले नै गर्ने बताएका छन् । ‘आन्दोलनमा घाइते भएकाहरुको उपचार हामी आफैं गर्नेछौं, सरकारको लालच हामीलाई चाहिँदैन ।’

 
 
  
 

You may also like