नेपालका लागि १० लाख डोज कोरोना खोप बोकेर भारतबाट उड्यो एयर इण्डिया

by समतल अनलाइन

काठमाडौैं । नेपाललाई अनुदानमा दिइएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप बोकेर भारतको एयर इण्डियाको विमान नेपाल उडेको छ ।भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कोरोना खोप लोड गरिएको विमानको तस्बिरसहित सामाजिक सञ्जालमार्फत खोप बोकेर विमान नेपालतर्फ उडेको जानकारी गराएका हुन् । भारतको विदेश मन्त्रायलयका प्रवक्ता श्रीवास्तवले ट्वीट गरेका छन्, ‘भारतमा बनेको कोरोना भ्याक्सिन नेपालका लागि पठाएका छौं ।’

भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बिहीबार बिहान एयर इण्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् ।

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका खोप शाखा प्रमुख डा। झलक शर्माका अनुसार १० देखि १५ दिनमा कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने छ ।

 

 
 
  
 

You may also like