काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस, तराईमा हुस्सु, चार प्रदेशमा वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । अघिल्लो हप्ता देशभरको मौसम बद्ली भएर खुलेको केही दिनपछि फेरि मौसम बद्ली हुन थालेको छ । उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् ।

काठमाडौंमा आज विहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् । उनका अनुसार काठमाडौंमा दिउँसोको तापक्रम २१–२३ डिग्री सेल्सियस पुग्ने छ ।

‘वागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौंका केही स्थानमा छिटपुट वर्षा हुनसक्छ । तर, ठूलो वर्षाको सम्भावना भने छैन’, मौसमविद् मानन्धर भन्छिन्, ‘वर्षा भएका खण्डमा चिसो बढ्छ । मौसममा बदली रहेकाले पनि सोमबारको जस्तो घाम लागेर न्यानो अनुभव हुने छैन ।’

उनका अनुसार आज (मंगलबार) दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु कुहिरोको सम्भावना रहेको छ । देशका अन्य भू–भागहरुमा मौसम सफा रहनेछ ।

देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउने भएकाले यसबाट बच्न आग्रह गर्दै मानन्धरले भनिन्, ‘तराईका केही भू–भागमा बिहानको समयमा हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने देखिन्छ ।’

 
 
  
 

You may also like