संसद विघटनविरुद्धका सबै रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र सबै ‘सांसद’ सर्वाेच्च अदालत जाँदै

by समतल अनलाइन

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको सुनुवाइ आज (शुक्रबार) संवैधानिक इजलासमा हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गत बुधबार सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यहि पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी थिइन् । संवैधानिक व्यवस्था विपरीत संसद विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध १३ वटा रिट दायर भएका छन् ।

सरकारले संसद विघटन गर्दा संविधानको धारा ७६ र ८५ लाई आधार मानेको छ । प्रधानन्यायाधीश जबराले भने सो धाराको थप संवैधानिक व्याख्या आवश्यक रहेकाले रिटहरुलाई संवैधानिक इजलासमा पठाउन गत बुधबार आदेश दिएका थिए । रिट निवेदक र अधिवक्ताहरुले भने बृहत इजलासमा सुनुवाइ हुनुपर्ने माग राखेका थिए ।

संसद विघटन असंवैधानिक भएको दावीसहित रिट दायर गर्नेहरुमा नेकपा प्रचण्ड–माधव समूहका नेता देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सन्तोष भण्डारी, कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, समृत खरेल, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कमल खत्री, मणिराम उपाध्याय, अमिता गौतम पौडेल, दीपक राई, तुलसी सिंखडा लगायत छन् ।

प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र सबै ‘सांसद’ सर्वाेच्च अदालत जाँदै
यता संसद विघटनविरुद्ध हालिएका रिटहरुमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुने दिन नै नेकपा प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय सदस्य आज (शुक्रबार) निर्वाचन आयोग र सबै ‘सांसद’ सर्वाेच्च अदालत जाने तयारीमा छन् ।

हिजो (बिहीबार) बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले अहिले बिहान १० बजे सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र मध्याह्न १२ बजे सबै सांसद सर्वाेच्च अदालत जाने निर्णय गरेको हो ।

सर्वोच्च अदालत र निर्वाचन आयोगमा सबै जना उपस्थित भएर बहुमत सदस्य हामी एक ठाउँमा छौं भनेर देखाउने निर्णय भएको छ’, स्थायी कमिटी सदस्य भीम आचार्यले भने, ‘हाम्रोतर्फ रहेका सबै सांसद शुक्रबार १० बजे सर्वोच्च अदालत र केन्द्रीय सदस्य दिउँसो १२ बजे निर्वाचन आयोग जाने निर्णय भएको छ ।’

 

 
 
  
 

You may also like