वीरमा पीसीआर टेस्टको दुई हजार २०, बिरामीप्रति लापर्वाह

by समतल अनलाइन

काठमाडौ । देशकै जेठो सरकारी अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रहेको वीर अस्पतालमा बिहानै पुग्दा कोही बिरामी चिकित्सकको पर्खाइमा थिए, कोही रिपोर्टको पर्खाइमा । ओपीडी टिकट लिएर बिरामीका आफन्तहरू बसिरहेका थिए ।

बिरामीका आफन्तले कानेखुसी गर्दै भनिरहेका थिए, ‘खोइ डाक्टर पनि आएका छैनन्, यहाँ त पैसा धेरै लिँदो रहेछन् पीसीआर टेस्ट गरेको पनि । ब्लड चाहिएको ब्लड पनि रहेनछ । कसरी खोज्ने होला ?’ गोरखाका ४२ वर्षीया राम तिवारीलाई प्रेसर बढेपछि उनका आफन्तले वीर अस्पताल पुर्‍याए । उनको सीटीस्क्यान गर्न चिकित्सकले सुझाव दिए ।

रामका आफन्त श्याम तिवारीले भने, ‘ईसीजी त भयो सीटीस्क्यान गर्नुपर्ने । तर ९ बजे मात्रै खुल्छ रे ? बिरामी छटपटाइरहेको छ । के गर्नु हाम्रो केही लाग्दैन ? कसैले सुन्दैन ।’ काठमाडौं बल्खु बस्दै आएकी ३१ वर्षीया रुविना महर्जनलाई पीसीआर टेस्ट गराउनुपर्ने थियो । उनी बिहान ७ः३० मै अस्पताल पुगिन् ।

परीक्षण शुल्क भन्दै वीर अस्पतालले २ हजार २० रुपैयाँको बिल थमायो । उनले भनिन्, ‘के गर्नु पीसीआर टेस्ट गर्नैपर्‍यो । मैले त निःशुल्क होला भन्ने सुनेको पैसा लिए ।’ कपिलवस्तु गोरुसिङे घर भएकी रीता तिमल्सिनालाई एमआरआई गरेबापत वीर अस्पतालमा ८ हजार ५ सय तिर्नुपर्‍यो ।

उनले भनिन्, ‘यहाँ त झुलाउँछन् । रिपोर्ट पनि ढिलो अनि यति धेरै महँगो । हेर्नुस् त सरकारी र निजीमा के फरक भयो त ? बरु निजी अस्पतालमै चेकजाँच गराउनुपर्ला ।’ सरकारी अस्पतालले बिरामीमैत्री सेवाप्रवाह नगर्दा बिरामीहरू मर्कामा परेका छन् ।

वीर अस्पतालमा उपचारसम्बन्धी उपकरण दुरुस्त नहुने, बिरामीको चापको कारण सामान्य उपचारका लागि तीन–चार घण्टा कुर्नुपर्ने, एमआरआई तथा सीटीस्क्यानका सेवा समयमै उपलब्ध नहुँदा रिामी मारमा पार्दै आएका छन् । उपकरण र आवश्यक चिकित्सकको अभावमा न्युरो, हाडजोर्नी जस्ता शल्यक्रियाका लागि बिरामीले महिनौं कुर्नुपर्ने बाध्यता छ ।

सरकारले बिरामीलाई सहज र सरल तरिकाले सेवाप्रवाह गर्ने भन्दै आए पनि कार्यान्वयनमा आउन सकेको छैन । स्वास्थ्य मन्त्रालयका अधिकारीले सरकारी अस्पतालहरूले गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउँदै आएका छन् ।

केही समयअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा सरकारी अस्पतालमा ओपीडी सेवा लिन जानेहरूको संख्या घटेको पाइएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सरकारी अस्पतालहरूले सेवाग्राहीप्रति विश्वास बढाउन सक्नुपर्ने बताए । राजधानी दैनिकबाट

 
 
  
 

You may also like