बालुवाटारमा आज ओली निकटका नेताहरूको भेला हुँदै

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेताहरूलाई बालुवाटार बोलाएका छन् ।

ओलीले आज (सोमबार) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकटका नेताहरूको भेला बोलाएका हुन् । भेलामा ओली निकटका विघटित प्रतिनिधिसभाका सांसद, स्थायी कमिटी सदस्यहरु र केन्द्रीय नेताहरूको उपस्थिति हुने स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले संघीय प्रतिनिधिसभा विघटन गरेपछि मुलुक मुठभेडको अवस्थातिर मोडिएको छ । पार्टीका सबै निकाय र संसदीय दलमा समेत अल्पमतमा पर्दै गएपछि उनले आकस्मिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्रीको कदमको पार्टीत्रि र बाहिर चौतर्फी विरोध भइरहेको छ । देशका विभिन्न स्थानमा प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन शुरु भइसकेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । नेकपाको स्थायी समिति बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ ।

संविधानविदहरुले भने संविधानले ओलीलाई संसद विघटनको अधिकार नदिएको बताइरहेका छन् । सर्वोच्च अदालतले संसद विघटनको निर्णय खारेज गर्ने उनीहरुको मत छ । आइतबार नै संसद् विघटनको निर्णयविरुद्ध सर्वोच्चमा तीन वटा रिट निवेदन पेस भएका छन् ।

अधिवक्ताहरू लोकेन्द्र वली, कञ्चनकृष्ण न्यौपाने र सुलभ पोखरेलले सर्वोच्चमा निवेदन दिएका छन् । उनीहरूले बहुमत प्राप्त सरकारले तीन वर्ष नबित्दै संसद् विघटन गर्नु संविधान विपरीत भएको जिकिर गरेका छन् ।

 
 
  
 

You may also like