रुसमा सर्वसाधारणले लगाउन थाले कोभिडविरुद्धको खोप

by समतल अनलाइन

काठमाडौं । रुसले राजधानी मस्काउस्थित सर्वसाधारणमा कोभिडविरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरेको छ । जसमा सबैभन्दा पहिले उच्च जोखिममा रहेका समूहलाई खोप दिइएको छ । यसमा रुसले अगस्टमा दर्ता भएको आफ्नै देशमा निर्मित ‘स्पट्नीक भी’ खोपको प्रयोग गरेको छ ।

यसअघि स्पट्नीकका निर्माताहरुले यो खोप ९५ प्रतिशत प्रभावकारी साबित भएको दाबी गरेका थिए भने यसको कुनै ठूलो साइड इफेक्ट नभएको पनि बताइएको छ । तर, अझैपनि खोपको अध्ययन र परीक्षण जरी नै छ ।

शनिबार र आइतबार मात्र हजारौँ मानिसहरुले पहिलो दुई डोज लगाउनका लागि आफ्नो नाम लेखाइसकेका छन् । तर, यसमा रुसले कति मात्रामा खोप उत्पादन गर्न सक्छ भन्ने स्पष्ट जानकारी दिइएको छैन । यो वर्षको अन्त्यसम्ममा यसको २० लाख डोज तयार हुने अपेक्षा गरिएको छ ।

मस्काउका मेयर सेर्गीले अघिल्लो हप्ता नै यो कार्यक्रमबारे घोषणा गर्दै स्कुल, स्वास्थ्य निकाय र सामाजिक विभागमा कार्यरत सहरका झन्डै १ करोड ३० लाख मानिसलाई खोप लगाइने बताएका थिए ।

यसमा अझ धेरै खोप उपलब्ध भएपछि मानिसहरुको सूची पनि बढाउँदै लग्ने उनले बताएका हुन् । अहिलेका लागि भने अनलाइन दर्ता सेवामार्फत स्वास्थ्य, शैक्षिकलगायत सामाजिक पेशामा संलग्नहरुले सहरका ७० स्थानमा आफ्नो नाम लेखाउन सक्छन् । यो कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालनमा रहने बताइएको छ ।

तर, पछिल्लो २ हप्तामा स्वास प्रस्वासमा समस्या वा यससम्बन्धी रोग भएकाहरुलाई भने यसमा समावेश नगराइने बताइएको छ । त्यसैगरी केही दीर्घ रोग भएकाहरु, गर्भवती र स्तनपान गराइरहेकाहरुलाई पनि अहिलेका लागि खोप नदिइने भनिएको छ ।

खोप अझै परीक्षणकै चरणमा भएपनि मानिसहरु आफ्नै इच्छाले खोप लगाउन तयार भएको बताइएको छ । रुसमा मस्काउ, महामारीको केन्द्र बनेकाले पनि त्यहीँदेखि खोप लगाउन सुरु गरिएको सरकारले बताएको छ । संक्रमितको संख्या देशभर २४ लाखभन्दा बढी रहेको छ । बीबीसी

 
 
  
 

You may also like