रुपन्देहीमा कोरोनाबाट अनमीसहित तीनको मृत्यु

by समतल अनलाइन

बुटवल । रुपन्देही जिल्लामा उपचाररत एक स्वास्थ्यकर्मीसहित तीन जना संक्रमितको मृत्यु भएको छ । बुटवलका दुई र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । उनी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य केन्द्रकी सिनियर अनमी हुन् । रुपन्देहीमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु यो नै पहिलो हो ।

कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि १८ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी उनको सोमबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलले बताए ।

यस्तै सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुषको पनि भीम अस्पताल भैरहवामा मृत्यु भएको छ । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको मंगलबार बिहान ६ बजे मृत्यु भएको प्रवक्ता डा. पोखरेलले जानकारी दिए । डा. पोखरेलका अनुसार संक्रमित पुरुष दमको दीर्घरोगी थिए ।

यसैगरी कपिलवस्तुका एक जना कोरोना संक्रमितको बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ का ७९ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

कात्तिक २३ गते बिहान १० बजे अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको सोमबार दिउँसो २ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको सोमबार राति ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like