काठमाडौं । एक नेपाली महिलाले अस्ट्रियामा आफ्ना तीन छोराछोरीको विभत्स हत्या गरेकी छन् ।अस्ट्रियाको भियना निवासी ती ३१ वर्षीया महिलाले शनिबार बिहान ८ महिनाका छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
जेठी छोरीलाई जीवितै फेला पारेर अस्पताल लगिए पनि उनको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । ती महिलालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ती महिला गुल्मी स्थायी घर भई पछिल्लो समय बुटवल बस्ने गरेको र त्यसपछि अस्ट्रिया गएको बताइए पनि उनको नाम सार्वजनिक गरिएको छैन । उनका पति पनि भियनामै बस्छन् । तर उनीहरूबीच झगडा भएकाले अलग–अलग बस्ने गरेको जनाइएको छ ।
छोराछोरीको हत्या गरेपछि ती महिला आफैंले प्रहरीलाई खबर गरेकी थिइन् । हत्यापछि उनले आफूलाई पनि चक्कु प्रहार गरेकी थिइन् । तर फोन गरेकाले प्रहरी तत्कालै पुगेको र उनको अवस्था गम्भीर नभएकाले नियन्त्रणमा लिएको बेलायती अनलाइन पत्रिका मिररले उल्लेख गरेको छ ।