काठमाडौं। चीनले दोस्रोपल्ट हुम्लामा नेपाली भूमि नमिचिएको दाबी गरेको छ । चीनले निर्माण गरिएका भवनहरू चिनियाँ भूमिभित्रै रहेको स्पष्ट पारेको छ । नयाँ गाउँ चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने उनीहरूले बताएका छन् ।
चिनियाँ सरकारको मुखपत्र दि ग्लोबल टाइम्ससँग बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा सो भवनहरू निर्माण गर्नुभन्दा पहिला सेना र सर्वेका अधिकारीले भवन निर्माण चिनियाँ भू–भागभित्र नै बनोस् भनी विस्तृत सर्बे र म्यापिङ गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘सो भवन पूर्णरुपमा चीनको भूभागभित्र पर्छ र सबैभन्दा नजिकको भवन चीन–नेपाल सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ ।’ उनले नयाँ गाउँ निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको समेत जानकारी गराएका छन् । चिनियाँ अधिकारीले पिल्लर नम्बर ११ र १२ एकदमै उच्च भागमा रहेको र सर्वेको ज्ञान नभएका व्यक्तिले अध्ययन गर्न कठिन हुने समेत उल्लेख गरेका छन् ।
नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरूले दोस्रोपटक फिल्ड सर्वे र मापनको काम गरेका थिए । यता नेपालको परराष्ट्र मन्त्रालय र चीनका लागि नेपाली राजदूत डा. महेन्द्रबहादुर पाण्डेले पनि चीनले नेपालको भूभाग नमिचेको स्पष्ट पारिसकेका छन् । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने चीनले नेपाली भूभाग मिचेको दाबी गर्दै सरकारले झूट बोलेको आरोप लगाएको छ ।